Skip to content

कांग्रेस र एमालेले कामै गर्ने अवसर पाइएन भन्न मिल्दैनः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले काम गर्ने अवसर पाइएन भनेर गनगन गर्न नपाइने बताएका छन् । काम गर्नका लागि छोटै अवधि पनि पर्याप्त हुने भन्दै कांग्रेस र एमालेले कामै गर्ने अवसर पाइएन भनेर भन्न नमिल्ने बताएका हुन् ।

‘कांग्रेस र एमालेले २०८४ को निर्वाचनको चर्चा गर्नै मिल्दैन । त्यहाँसम्म पुग्नका लागि अझै तीन वर्ष छ र काम गर्नका लागि यो अवधि पर्याप्त छ,’ उनले भने, ‘यो अवधिमा काम गर्न सकेनौँ भने अरु कुराको गनगन गर्न पाइँदैन ।’

संघ, प्रदेश र तीन सय ३० पालिकामा कांग्रेस सरकारमा रहेको भन्दै उनले ती सरकारलाई प्रभावकारी बनाउनतिर कांग्रेसको ध्यान जानुपर्ने बताए । यस्तो अवस्थामा पनि केही गर्न नसके आफूहरू हुनुको कुनै अर्थ नहुने उनले बताए ।

उनले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले नेतृत्व गरेका सरकारको अहिले पनि स्मरण हुने गरेको भन्दै ती सबै सरकार छोटो अवधिका मात्र रहेको चर्चा गरे । जनताले कांग्रेसलाई धेरै दिएको भन्दै थापाले जनताले दिने कुरामा अब पनि चुक्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्