Skip to content

नयाँ स्टक एक्स्चेन्ज खोल्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । नयाँ स्टक एक्स्चेन्ज खोल्न प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार कृष्णबहादुर थापाले ऐन(नियममा व्यवस्था नभई निर्देशिकामा मात्रै टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्।

धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्नेसम्बन्धी निर्देशिका, २०७९ मा रहेर नेपाल धितोपत्र बोर्डले २०७९ असोज २ गते सूचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्जका लागि आवेदन मागेको थियो। रिटमा उक्त सूचनाबमोजिम भएगरेका सम्पूर्ण कामकारबाहीहरू रद्द गरी निर्देशिका पनि खारेज गर्न माग गरिएको छ।

निवेदक थापाले कार्यविधिमा मात्रै टेकेर नयाँ स्टक एक्स्चेन्जको अनुमति दिन लागिएको भन्दै सर्वोच्चमा रिट हालेका हुन्। सर्वोच्च प्रशासनका अनुसार उक्त रिटउपर संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।

प्रतिक्रिया दिनुहोस्