Skip to content

सिन्धुलीमा हायस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

काठमाडौँ । सिन्धुलीमा हायस गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा३ख ८४४५ नम्बरको हायस बिहीबार सुनकोसी गाउँपालिका–७, कानढुंग्रेस्थित सडकखण्डमा दुर्घटना भएको हो ।

टायर पन्चर हुँदा गाडी अनियन्त्रित भई सडकछेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी सुरुमा खुर्कोटस्थित सुनकोसी अस्पतालमा पठाइएको थियो ।

घाइतेमध्ये धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनकोसी, धुलिखेल, बीएन्डबी अस्पताल र ट्रमा सेन्टरमा घाइतेको उपचार भइरहेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्