काठमाडौं । सरकारले यस वर्षको दसैँमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावका कारण चौपाया खरिद नगर्ने जनाएको हो।
कम्पनीका अनुसार चालु आर्थिक वर्षमा खसी–बोका खरिदका लागि आवश्यक बजेट विनियोजन नभएकाले उपत्यकामा सहुलियत मूल्यमा चौपाया बिक्री गर्न नसकिने अवस्था आएको हो।
गत वर्ष २०८१ को दसैँमा कम्पनीले १ हजार ५ सय खसी–बोका र ३ सय च्याङ्ग्रा ल्याएर उपभोक्तालाई बिक्री गरेको थियो। त्यसबेला जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र च्याङ्ग्राको १ हजार २३० रुपैयाँ तोकिएको थियो। उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँसम्म छुटसमेत दिइएको थियो।
यस वर्ष भने सहुलियत बिक्री नहुँदा बजारमा निजी क्षेत्रबाट आपूर्ति हुने चौपायामै उपभोक्ता निर्भर हुनुपर्ने देखिएको छ। चौपाया खरिद–बिक्री केन्द्रका अनुसार काठमाडौं उपत्यकामा मात्रै दसैँका लागि करिब ३५ देखि ४० हजार खसी, बोका तथा च्याङ्ग्राको माग रहने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्