हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलसम्म नियमित उडान सुरु गर्न लागेको हो ।
एयरलाइन्सका अनुसार काठमाडौं–साङ्घाई–काठमाडौं रुटमा सुरुमा सातामा दुईवटा उडान सञ्चालन हुनेछ । काठमाडौंबाट सोमबार र शुक्रबार तथा साङ्घाईबाट मंगलबार र शनिबार उडान हुने तालिका छ ।
काठमाडौं–साङ्घाई उडान साँझ ६ः२५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे साङ्घाई पुग्नेछ । साङ्घाईबाट बिहान ३ बजे उडान भरेको विमान बिहान ७ः१० बजे काठमाडौं आइपुग्नेछ । उडान समय स्थानीय समयअनुसार तोकिएको एयरलाइन्सले जनाएको छ । यो सेवा सेप्टेम्बर २८ देखि अक्टोबर २३ सम्मका लागि काठमाडौं–साङ्घाईतर्फ र सेप्टेम्बर २९ देखि अक्टोबर २४ सम्म साङ्घाई–काठमाडौंका लागि सञ्चालन हुनेछ ।
हिमालय एयरलाइन्सका अनुसार काठमाडौं–साङ्घाई रुटमा सेवा पुनः सुरु भएसँगै कम्पनी यो क्षेत्रमा नियमित सिधा उडान गर्ने एक मात्र व्यावसायिक वायुसेवा बन्नेछ । नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुने समयमा सिधा उडान पुनः सञ्चालन हुन लागेकाले यसले चीनबाट नेपाल आउने पर्यटक तथा पर्यटन र आतिथ्य क्षेत्रलाई सहयोग पुग्ने अपेक्षा एयरलाइन्सले गरेको छ । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–साङ्घाई उडानले नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग पु¥याउने बताए ।
यात्रुले एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, वेबसाइट तथा मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन् । यात्रुको माग र उडानको यात्रु भारअनुसार आगामी दिनमा उडान संख्या बढाउने विषयमा समीक्षा गरिने एयरलाइन्सले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्