वीरगन्ज । वीरगन्ज महानगरपालिकाले देशभर तथा यस क्षेत्रमा हुनसक्ने भारी वर्षा, हावाहुरी र चट्याङको जोखिमलाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एक दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालय (सिंहदरबार, काठमाडौँ) को मिति २०८३÷०६÷०७ को पत्रानुसार आएको निर्देशनलाई आधार मान्दै महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरेको हो ।
मौसमको प्रतिकूल प्रभावलाई ध्यान दिँदै आगामी भोलि अर्थात् शुक्रबार एक दिनका लागि सम्पूर्ण विद्यालयहरूको पठनपाठन स्थगित गराउन अनुरोध गरिएको छ ।
साथै, सम्भावित विपद् वा आपत्कालीन अवस्था उत्पन्न भएमा प्रभावित क्षेत्रका विद्यालय भवनहरूलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्न समेत महानगरले सबै विद्यालयहरूलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्