Skip to content

चीनमा भूकम्प : १६ जनाको मृत्यु, ३३९ वटा घर भत्किए, उद्धार टोली सक्रिय

nmb bank inside

एजेन्सी । चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित गाउँमा शुक्रबार बिहानै अग्नि नियन्त्रण तथा उद्धार टोलीहरू पुगेका छन्। 

उक्त क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि उद्धार टोलीहरू त्यहाँ पुगेका हुन्।

चीनको भूकम्प सञ्जाल केन्द्रका अनुसार बिहीबार राति २२ः३३ बजे नाग्छु सहरको बाकेन काउन्टीमा १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु उत्तरी अक्षांश ३२.४० डिग्री र पूर्वी देशान्तर ९३.७९ डिग्रीमा रहेको थियो।

भूकम्पको केन्द्रबिन्दु नजिकै र सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक मानिने गाङ्छे नगरमा ११० जना अग्नि नियन्त्रक, २५ वटा सवारीसाधन र खोज तथा उद्धारका लागि तालिमप्राप्त चारवटा कुकुरसहितको टोली पुगेको छ।

उक्त टोलीले भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी गर्नुका साथै घरहरूमा भएको क्षतिको आकलन गरिरहेको छ।

उद्धार कार्य जारी रहँदा थप उद्धार टोलीहरू पनि विपद् प्रभावित क्षेत्रमा पुग्ने क्रममा रहेका छन्।

भूकम्पका कारण कम्तीमा १६ जनाको मृत्यु भएपछि शुक्रबार बिहानैदेखि उद्धार टोलीहरू परिचालन भएका हुन् । 

सिजाङको आपत्कालीन कमान्डबाट प्राप्त विवरणअनुसार शुक्रबार बिहान ७ बजेसम्म भूकम्पका कारण ५४ जना घाइते भएका छन् भने ३३९ वटा घर भत्किएका छन्।

भूकम्पपछि चीनको भूकम्प प्रशासनले दोस्रो तहको आपत्कालीन प्रतिकार्य सुरु गरेको हो । (सीसीटीभीप्लस)

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्