दुबई । दुबईमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘ज्वेलरी, जेम एन्ड टेक्नोलोजी इन दुबई (JGTD) २०२६’ प्रदर्शनीमा महासंघको १८ सदस्यीय प्रतिनिधिमण्डलले उत्साहजनक सहभागिता जनाएको छ।
कार्तिक १० देखि १२ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा सहभागी नेपाली प्रतिनिधिमण्डलले उद्घाटन सत्रमा सहभागिता जनाउनुका साथै प्रदर्शनी अवलोकन, सेमिनार, नेटवर्किङ तथा व्यावसायिक भेटघाटमा भाग लिएको छ। यसक्रममा प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय बजारमा विकसित भइरहेका नवीनतम प्रविधि, व्यावसायिक अवसर तथा रत्न र आभूषण क्षेत्रका सम्भावनाबारे जानकारी हासिल गरेको छ।
प्रदर्शनीका क्रममा आयोजकका पदाधिकारी तथा प्रतिनिधिहरूसँग भएको भेटघाटमा नेपाल र दुबईका रत्न तथा आभूषण उद्योगबीच सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। भेटमा ज्ञान तथा प्रविधिको आदानप्रदान, व्यावसायिक सम्बन्ध विस्तार र आपसी सहयोगका सम्भावनाबारे समेत कुराकानी भएको जनाइएको छ।
नेपालको मौलिक कला, परम्परागत सीप र रत्न तथा आभूषण उद्योगमा रहेका सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उद्देश्यले नेपाली प्रतिनिधिमण्डलको सहभागितालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। यसले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न तथा विदेशी बजारमा नयाँ व्यावसायिक अवसर खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अन्तर्राष्ट्रियस्तरको यस प्रदर्शनीमा सहभागिताले नेपालको रत्न तथा आभूषण उद्योगलाई नवीन प्रविधि, अन्तर्राष्ट्रिय सहकार्य र व्यावसायिक विस्तारसँग जोड्न थप मद्दत पुग्ने विश्वास लिइएको छ।


प्रतिक्रिया दिनुहोस्