सुनसरीका विभिन्न स्थानमा छठ पर्वको तयारी तीब्र
अजितकुमार झा, नेपाल न्यूज बैंक
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा छठ पर्वलाई लक्षित गरी छठ घाटको तयारीमा सबैजना जुटेका छन् ।
सुनसरी सदरमुकाम इनरुवा सहित कोसी, भोक्राहा, हरिनगर, देवानगन्ज, गढी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, दुहबी, भोक्राहा नरसिंह सहितका स्थानमा स्थानीयवासीसँगै छठ पर्व मनाउने भक्तजन छठ घाट सरसफाइ गर्नुका साथै सजाउनका लागि जुटेको इनरुवा–३ का शैलेन्द्र सिंहले जानकारी दिए ।
इनरुवाको सुनसरी खोला, शंकरपुर शाखा नहर, कोसी ब्यारेज, कोसी कटान, बुढी खोला लगायतका स्थानमा छठ पर्व मनाउनका लागि सरसफाइ र घाट सजावटमा स्थानीयवासीसँगै युवाहरू सक्रिय भएको कोसी गाउँपालिकाका राजेश झाले बताए ।
छठ पर्वलाई भव्य, व्यवस्थित र आकर्षक बनाउन युवाहरू सरसफाइ तथा घाट सजावटमा जुटेका छन् । छठ घाटमा स्थानीय युवा तथा भक्तजनहरूले सरसफाइ अभियान सञ्चालन गर्नुका साथै छठ घाटलाई बेहुलीझैँ सिंगार्न सक्रियता देखाएको स्थानीय अजय देवले बताए ।
छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई ध्यानमा राख्दै युवाहरू स्वःस्फूर्त रूपमा सरसफाइ, व्यवस्थापन र सजावटमा जुटेका हुन् ।
स्थानीयवासीसँगै युवाको सक्रियताले सामाजिक एकता, आपसी सद्भाव र आफ्नै मौलिक संस्कृति संरक्षणप्रतिको जिम्मेवारीलाई समेत उजागर गरेको छ । छठ पर्वको मुख्य दिन अर्थात् आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।v


प्रतिक्रिया दिनुहोस्