काठमाडौँ। पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेपछि सक्रिय राजनीतिमा खासै नदेखिएकी श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने सामाजिक सञ्जालमार्फत घोषणा गरेकी हुन्।
उनले आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने भन्दै आगामी निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धा गर्ने बताएकी छन्।
सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’
श्रेष्ठ अघिल्लो प्रतिनिधिसभामा रास्वपाबाट समानुपातिक सांसदका रूपमा निर्वाचित भएकी थिइन्। उनी त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत बनेकी थिइन्। पार्टीको सहमहामन्त्रीको जिम्मेवारीमा रहेकी उनले पछि रास्वपा परित्याग गरेकी थिइन्।
अब काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेसँगै श्रेष्ठ पुनः सक्रिय राजनीतिक प्रतिस्पर्धामा फर्किने भएकी छन्।


प्रतिक्रिया दिनुहोस्