Skip to content

शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो : प्रचण्ड

nmb bank inside

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न सबै राजनीतिक दल, सरकार तथा सम्बन्धित सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको अवसरमा उनले संक्रमणकालीन न्यायको प्रक्रियालाई द्वन्द्वपीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पु¥याउनुपर्ने बताएका हुन् ।

२०६३ मंसिर ५ गते तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी)बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको स्मरण गर्दै उनले उक्त सम्झौता नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्माण भएको राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज भएको उल्लेख गरे ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी)का अध्यक्षका रूपमा आफूले सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै प्रचण्डले शान्ति सम्झौता नेपालको राजनीतिक इतिहासमा युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण उदाहरणका रूपमा स्थापित भएको बताए ।

उनका अनुसार विस्तृत शान्ति सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका हुन् ।

यद्यपि, शान्ति सम्झौतामा गरिएका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उनले बताए । विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व अझै रहेको उनले उल्लेख गरे ।

शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्यमा मात्र सीमित नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको प्रचण्डले बताए ।

‘शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो,’ प्रचण्डले भनेका छन्, ‘यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।’

उनले शान्ति प्रक्रियामा योगदान पु¥याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान व्यक्त गर्दै शान्ति प्रक्रियाका बाँकी काम शीघ्र पूरा गर्न सबै पक्षलाई गम्भीर हुन आग्रह गरेद ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्