काठमाडौं । पूर्वीय दर्शनमा आधारित मध्यममार्गी विचारधारा अवलम्बन गरेको दाबी गर्ने सार्वभौम नागरिक पार्टीले आज(आइतबार) प्रथम स्थापना दिवस तथा प्रथम वार्षिक उत्सव मनाउँदैछ ।
पार्टीले मंसिर ८ गते मंगलबार काठमाडौंको नयाँ बानेश्वरस्थित होटल अर्यालमा दिउँसो २ बजे वार्षिक उत्सव कार्यक्रम आयोजना गर्न लागेको हो ।
पार्टीका सभापति गणेश कुमार मण्डलले स्थापना दिवसका अवसरमा संस्थापक सदस्य, अग्रज व्यक्तित्व, शुभेच्छुक तथा सचेत नागरिकलाई कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेका छन् ।
स्थापनाको पहिलो वर्षलाई नवीन राजनीतिक सोच, वैचारिक जागरण र नागरिक अधिकार स्थापित गर्ने संकल्पको प्रारम्भिक अध्यायका रूपमा व्याख्या गर्दै पार्टीले पुरानो राजनीतिक अभ्यासको विकल्पमा नयाँ सोच, नयाँ संस्कार र नागरिक सर्वोच्चतामा आधारित राजनीतिक व्यवस्था आवश्यक रहेको जनाएको छ ।
पार्टीले मध्यममार्गी विचारधारालाई आगामी राजनीतिक विकल्पका रूपमा अघि सारेको छ । भ्रष्टाचार, कुशासन, विभेद, गलत राजनीतिक संस्कार र नागरिक अधिकारमाथिको उपेक्षाविरुद्ध आफ्नो संघर्ष केन्द्रित रहेको पनि पार्टीले जनाएको छ ।
पार्टीले नागरिकतन्त्र स्थापना, नागरिक सर्वोच्चता, सुशासन र समृद्ध राष्ट्र निर्माणलाई आफ्नो मुख्य संकल्पका रूपमा प्रस्तुत गरेको छ । स्थापना दिवसको अवसरमा पार्टीले देश, नागरिक र भावी पुस्ताको भविष्यका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनसमेत आह्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्