इलाममा मेडिकल कलेज स्थापना गर्न मेयर थापाको सक्रियता, काठमाडौंमा छलफल
काठमाडौं । इलाममा मेडिकल कलेज (स्वास्थ्य विज्ञान प्रतिष्ठान) स्थापना गर्न इलाम नगरपालिकाले सक्रियता बढाएको छ ।
प्रस्तावित मेडिकल कलेज स्थापनासम्बन्धी आधारपत्र तयार गरेर मेयर केदार थापा नेतृत्वको टोलीले काठमाडौंमा लबिङ सुरु गरेको छ ।
मेयर थापाको अगुवाइमा सोमबार शिक्षामन्त्री सस्मित पोख्रेलका प्रमुख सल्लाहकार शैलेन्द्र झालाई भेटेर मेडिकल कलेज स्थापनाका लागि आवश्यक सहयोग गरिदिनुहुन आग्रह गरेको छ ।
‘मेडिकल कलेज निर्माणको सन्दर्भमा एउटा अध्ययन टोली बनेको छ । इलाम नगरपालिका वडा नम्बर ६, ७ र ४ नम्बरका अध्यक्षसहितको उपस्थितिमा शैलेन्द्र झालाई भेटेर सहयोग मागेका छौं, उहाँले सकरात्मक रुपमा लिनुभएको छ, काठमाडौंमा अन्य समाजसेवी साथीहरुले पनि अभियानमा सक्रिय साथ दिनु भएको छ,’ उनले भने ।
पाँचथर, ताप्लेजुङ, झापा साथै भारतको सिक्किम–दार्जिलिङसम्मका लागि इलाम केन्द्रमा रहेकाले मेडिकल कलेज निर्माण उपयुक्त भएको पनि मेयर थापाले जानकारी दिए ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसी र सरकारबीच गत कात्तिक २९ गते भएको सहमतिलाई आधार बनाउँदै नगरपालिकाले प्रतिष्ठान स्थापनाका लागि आवश्यक तयारी, जग्गा व्यवस्थापन, पूर्वाधार विकास र सेवा विस्तारका विषय सार्वजनिक गरेलगत्तै मेयर थापाले सक्रियता बढाएका हुन् ।
‘हामीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक पूर्वाधारहरुको तयारी गरेका छौं । डा.केसीसँगको सम्झौता अनुसार काम पनि गर्नुपर्नेछ । त्यसैले केन्द्र सरकारको हामीलाई सहयोग चाहिएको छ,’ मेयर थापाले भने ।
नेपाल सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिएको भए पनि मेची क्षेत्रमा अहिलेसम्म मेडिकल कलेज स्थापना हुन सकेको छैन ।
डा गोविन्द केसीसँग भएको सहमतिअनुसार इलाममा मेडिकल कलेज स्थापना गर्न सरकारले प्रतिबद्धता जनाइसकेको छ ।
करिब १४ सय रोपनी जग्गा आवश्यक प्रस्तावित प्रतिष्ठान स्थापनाका लागि करिब १४ सय रोपनी जग्गा आवश्यक पर्ने नगरपालिकाले अध्ययन गरेको आधार पत्रमा उल्लेख छ ।
गत कात्तिक २९ गते भएको सहमतिअनुसार डा.गोविन्द केसीले आफ्नो २५औँ सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने सहमति भएको थियो । सहमतिको पाचौँ बुँदामा इलाम मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सरकारकाले बजेट विनियोजन गर्ने विषय उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्