Skip to content

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री शाहको आह्वान

nmb bank inside

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै दुई देशबीच भएका समझदारी र अघि बढाइएका पूर्वाधार आयोजनाबाट नागरिकले प्रत्यक्ष आर्थिक तथा सामाजिक लाभ पाउनुपर्ने बताएका छन् ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले नेपाल र भारतबीच शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउने उद्देश्यले भएको छलफलबाट विभिन्न क्षेत्रमा महत्वपूर्ण समझदारी भएको उल्लेख गरे । ती समझदारी तथा अघि बढाइएका पूर्वाधार आयोजनाले किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी र अवसर, विद्यार्थीको सपनामा नयाँ क्षितिज तथा उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

‘आज भएका समझदारी र अघि बढाइने आयोजनाको परिणाम किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी र अवसर तथा विद्यार्थीको सपनामा नयाँ क्षितिजका रूपमा देखिनुपर्छ,’ प्रधानमन्त्री शाहले भने, ’उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका ठोस अवसर सिर्जना हुनुपर्छ ।’

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन अहिलेको ऐतिहासिक उपलब्धिलाई कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री शाहले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्दै भारतीय लगानीकर्तालाई नेपालको आर्थिक समृद्धिमा साझेदार बन्न आग्रह गरे । उनले दुई देशका नागरिकको सहजताका लागि सहरहरूबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्ने र नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने बताए ।

यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर र नवप्रवर्तन केन्द्र स्थापना गर्ने घोषणा गरेका छन् । नेपालको युवा पुस्ताको क्षमता विकास तथा दुई देशबीच शैक्षिक र प्रविधि सहकार्य विस्तार गर्ने उद्देश्यले यी संरचना स्थापना गर्न लागिएको उनले बताए ।

मोदीले नेपालका युवामा प्रतिभा, ऊर्जा र ठूला सपना रहेको उल्लेख गर्दै उनीहरूको सपना साकार पार्न भारत साझेदार बन्न प्रतिबद्ध रहेको बताए ।

भारतमा नेपाली विद्यार्थीका लागि कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसर विस्तार गर्ने घोषणा पनि उनले गरे ।

त्यसैगरी, नेपालमा खाद्य प्रशोधन तथा कृषिजन्य उत्पादनको मूल्य अभिवृद्धि गर्न कृषि–औद्योगिक पार्क विकासमा सहकार्य गर्ने मोदीले बताए । यसअघि जारी संयुक्त प्रेस विज्ञप्तिमा पनि भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गर्ने उल्लेख छ ।

दुई देशका युवा सिर्जनशील व्यक्तिलाई चलचित्र, आधुनिक प्रविधि र नयाँ सञ्चार माध्यममार्फत साझा सम्पदा विश्वसामु प्रस्तुत गर्ने अवसर विस्तार गर्न भारतले सहयोग गर्ने मोदीले बताए । आगामी वेभ्स सम्मेलनमा नेपाली प्रतिनिधिको ठूलो सहभागिता सुनिश्चित गर्ने पनि उनले उल्लेख गरे ।

खेलकुद, विशेषगरी क्रिकेटमा समेत सहकार्य विस्तार गर्ने भारतको योजना छ । नेपालमा खेल पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा सहयोग गर्ने मोदीले बताए ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा दुई देशका नेताले सीमापार सम्पर्क सञ्जाल, ऊर्जा तथा पूर्वाधारसँग सम्बन्धित ६ वटा प्रमुख आयोजनाको संयुक्त उद्घाटन तथा शिलान्याससमेत गरेका छन् । भ्रमणका क्रममा ऊर्जा, यातायात, शिक्षा, कृषि, प्रविधि र अन्य क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समझदारी भएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्