भोजपुरमा जारी वडाध्यक्ष कप : आम्तेक र युनिटी फाइनल प्रवेश, उपाधिका लागि मंगलबार भिडदै
भोजपुर । भोजपुरमा जारी चौँथो संस्करणको वडाध्यक्ष कप खुला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएको सेमिफाइनल खेलबाट आम्तेक–११ र युनिटी–७ फाइनलमा प्रवेश गरेका छन । उपाधिका लागि दुई टिमबीच मंगलवार प्रतिस्पर्धा हुने छ ।
बिहानी फुटवल क्लव र आम्तेक– ११ बीच सोमवार भएको पहिलो सेमिफाइनल खेलमा दुवै तर्फबाट एक–एक गोल भएपछि खेल ट्राइवेकरमा धकेलिएको थियो । जसमा बिहानीलाई पछि पार्दै आम्तेक–११ फाइनल प्रवेश गरेको हो ।
यस्तै दोश्रो सेमिफाइन खेलमा १–० गोलले कोदार फुटवल क्लवलाई पराजित गर्दै युनिटी उपाधिका लागि दावेदार बनेको हो । मंसिर ४ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा भई रहेको छ ।
प्रतियोगितामा समुह (क) तर्फ बोखिम फुटवल क्लव, आम्तेक ११, भोजपुर–१०, खेलकुद विकास समिति–६, टेम्केमैयुङ, जयबुद्ध, बिहानी फुटवल क्लव र पौवादुङमा कलेक्सनको टिमले सहभागिता जनाएका थिए । यस्तै, समुह (ख) तर्फ भोर्टोक्स फुटवल क्लव, अन्नपूर्ण फुटवल क्लव, बोखिम, कोदार फुटवल क्लव, सेभेन स्टार फुटवल क्लव, रिमाचुङ, युनिटि–७ र चौतारी फुटवल क्लवको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता टोलीले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ र उपविजेता टोलीले नगद ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै व्यक्तिगत विधातर्फ म्यान अफ द म्याच, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताको मुख्य प्रायोजन भोजपुर नगरपालिका वडा नम्बर ७ को रहेको छ भने खेलको संयोजन भोजपुर जिल्ला फुटबल संघले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्