काठमाडौं । सञ्चार क्षेत्रका सरोकारवालाहरुले नेपालमा विज्ञान पत्रकारिता कमजोर भएको बताएका छन् । मंगलबार विश्व विज्ञान दिवसको अवसरमा नेपाल रसिया साइन्स एन्ड टेक्नोलोजी सोसाइटीले आयोजना गरेको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं नेपाल न्यूज बैंकका प्रमुख सम्पादन सल्लाहकार धर्मेन्द्र झाले नेपालमा विज्ञान पत्रकारिता अझै कमजोर अवस्थामा रहेको बताए । झाले विज्ञान तथा प्रविधिसम्बन्धी विषयलाई सरल र सहज भाषामा आम नागरिकसम्म पु¥याउनुपर्ने बताए ।
उनले भने, ‘नेपालमा विज्ञान पत्रकारिता अहिले पनि अत्यन्तै कमजोर अवस्थामा छ । विज्ञान तथा प्रविधिसम्बन्धी विषय प्राविधिक र जटिल भाषामा प्रस्तुत हुँदा आम नागरिकले बुझ्न सक्दैनन् । त्यसैले वैज्ञानिक अनुसन्धान र ज्ञानलाई सरल भाषामा सर्वसाधारणसम्म पु¥याउन आवश्यक छ । यसका लागि विज्ञानसँग सम्बन्धित संस्था, अनुसन्धानकर्ता र सञ्चारमाध्यमबीच सहकार्य हुनुपर्छ ।’
विज्ञानका विषयवस्तु प्राविधिक र जटिल भाषामा प्रस्तुत हुँदा सर्वसाधारणले बुझ्न कठिन हुने गरेको बताए । विज्ञानको ज्ञानलाई आम नागरिकले बुझ्ने भाषामा रूपान्तरण गर्नु नै विज्ञान सञ्चारको मुख्य चुनौती रहेको उनको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसंचार विभागका विभागीय प्रमुख डा.जगत नेपालले विज्ञान पत्रकारिताको विकासका लागि वैज्ञानिक र सञ्चारकर्मीबीच सहकार्य, समन्वय र प्रभावकारी सञ्चार प्रणाली आवश्यक रहेको बताए ।
उनले पत्रकारिताभित्र देखिएका विकृति र कमजोरीका आधारमा समग्र पत्रकारिता क्षेत्रलाई मूल्याङ्कन गर्न नहुने भन्दै इमानदार र व्यावसायिक पत्रकारलाई पहिचान गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
विज्ञान र पत्रकारिताबीचको सम्बन्धबारे आफ्नो धारणा राख्दै नेपालले विज्ञानले अनुसन्धानमार्फत तथ्य र वास्तविकता पत्ता लगाएजस्तै पत्रकारिताले पनि समाजका वास्तविक विषयलाई उजागर गर्ने बताए ।
बैज्ञानिक तथा अनुसन्धानकर्ता डा. बबिता पौडेलले साइन्स जर्नालिजमबारे विश्वविद्यालयमा पनि अध्ययन अध्यापन हुनुपर्ने बताउँदै हालसम्म भएका अनुसन्धानहरुलाई सरल रुपमा समाजसम्म पुर्याउनुपर्ने औंल्याइन् ।
प्राध्यापक डाक्टर रमेश कुमार मास्केले विज्ञान क्षेत्रका अध्ययन अनुसन्धानहरु नीति निर्माणमा सहयोगी हुने भएकाले कतिपय अनुसन्धानमुलक रिपोर्टहरु समाचारका गतिलो माध्यम बन्नसक्ने बताए । उनले विज्ञान र समाज जोड्नका लागि विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
विश्वविद्यालयमा पत्रकारिता पढाइ हुने गरेको भएपनि जनमानसमा बुझ्ने किसिमका विज्ञान सम्बन्धी समाचार सामग्रीहरु पस्किनुपर्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस्