Skip to content

जलवायु न्याय र उत्थानशील सहर निर्माणका लागि ‘काठमाडौं जलवायु घोषणा’ जारी

nmb bank inside

काठमाडौं । जलवायु परिवर्तनका बढ्दो असर न्यूनीकरण गर्दै जलवायु न्याय, समावेशी विकास र उत्थानशील सहर निर्माण गर्ने प्रतिबद्धतासहित ‘काठमाडौं जलवायु घोषणा, २०८३’ जारी गरिएको छ ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा मंसिर ७ देखि १३ गतेसम्म आयोजित काठमाडौं जलवायु कार्य सप्ताहबाट प्राप्त ज्ञान, अनुभव, सुझाव तथा सिकाइलाई कार्यान्वयनमा रूपान्तरण गर्ने उद्देश्यले आइतबार घोषणा जारी गरिएको हो ।

घोषणापत्रमा जलवायु परिवर्तनका कारण बढ्दो बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट, वायु प्रदूषण तथा प्राकृतिक र सांस्कृतिक सम्पदामाथि सिर्जित जोखिमलाई सामूहिक प्रयासबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणाले जलवायु परिवर्तनलाई कुनै एक समुदाय, क्षेत्र वा राष्ट्रको मात्र नभई मानव सभ्यताकै साझा चुनौतीका रूपमा व्याख्या गरेको छ । जलवायु परिवर्तनको असर सबैले भोगे पनि त्यसमा योगदान र सामना गर्ने क्षमता समान नभएकाले जलवायु न्यायको सिद्धान्तअनुसार विकसित राष्ट्रको जिम्मेवारी, विकासशील राष्ट्रको आवश्यकता र जोखिममा रहेका समुदायको अधिकारलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ ।

घोषणापत्रमा जलवायु परिवर्तनसम्बन्धी शिक्षा विद्यालयस्तरदेखि नै स्थानीय पाठ्यक्रममा समावेश गर्ने प्रतिबद्धता पनि जनाइएको छ। बालबालिका तथा युवामा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, दिगो विकास, हरित सहर र फोहोरमैला व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप विकासमा जोड दिइने उल्लेख छ ।

त्यस्तै, जलवायुसम्बन्धी निर्णय प्रक्रिया र समस्या समाधानमा बालबालिका, युवा तथा विभिन्न पुस्ताको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

घोषणाले सहरी विकास तथा पूर्वाधार निर्माणका क्रममा नदी, खोला, वन, सिमसार, खुला क्षेत्र र जैविक विविधतामाथि पर्ने दबाब न्यूनीकरण गर्नुपर्नेमा जोड दिएको छ ।

विकासका हरेक योजना तथा आयोजनामा जलवायु जोखिम मूल्याङ्कन, वातावरणीय संवेदनशीलता र दीर्घकालीन प्रभावलाई अनिवार्य रूपमा समेट्ने प्रतिबद्धता गरिएको छ । साथै, रैथाने ज्ञान, सीप, वैज्ञानिक अनुसन्धान तथा प्रकृतिमा आधारित समाधानलाई विकास आयोजनामा एकीकृत गर्ने उल्लेख छ ।

काठमाडौं उपत्यकाले बढ्दो सहरी तापक्रम, वायु प्रदूषण, अव्यवस्थित सहरीकरण, बाढी, डुबान र खानेपानीको चुनौती सामना गरिरहेको उल्लेख गर्दै घोषणाले उपत्यकाको विशिष्ट भौगोलिक तथा सांस्कृतिक पहिचान संरक्षणमा जोड दिएको छ ।

यसका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना जारी गर्ने, वायु प्रदूषण नियन्त्रण गर्ने, आकाशे पानी संकलन तथा ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने, नदी तथा खोलाको पुनर्जीवन गर्ने र हरित क्षेत्र विस्तार गर्ने प्रतिबद्धता गरिएको छ ।

त्यस्तै, हिटी, पोखरी, राजकुलो तथा सांस्कृतिक सम्पदाको संरक्षण र सफा टेम्पो तथा विद्युतीय बसजस्ता सार्वजनिक यातायातको प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ । विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउँदै काठमाडौंलाई जलवायु उत्थानशील सहरका रूपमा विकास गर्ने लक्ष्य घोषणाले लिएको छ ।

जलवायु कार्य ठूला सम्मेलन, नीति र दस्तावेजमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै घोषणाले सहरी नीति, योजना, बजेट तथा कार्यक्रमलाई नागरिकको दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिएको छ । 

स्वच्छ ऊर्जा, ऊर्जा दक्षता, फोहोरमैला व्यवस्थापन, मिथेन उत्सर्जन न्यूनीकरण, सार्वजनिक यातायात, हरित पूर्वाधार, पानीको मितव्ययी उपयोग र दिगो उपभोगलाई नागरिकको दैनिक अभ्यास बनाउने प्रतिबद्धता गरिएको छ ।

घोषणापत्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदाय, अनौपचारिक बस्तीका बासिन्दा तथा जलवायु जोखिममा रहेका अन्य समूहको आवश्यकता र आवाजलाई जलवायु नीति तथा कार्यक्रममा प्राथमिकता दिने उल्लेख गरेको छ ।

स्थानीय ज्ञान, परम्परागत सीप, रैथाने खाना, दिगो खाद्य प्रणाली, वैज्ञानिक अनुसन्धान र नयाँ पुस्ताको सिर्जनशीलतालाई एकीकृत गर्दै समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

काठमाडौं जलवायु घोषणाले प्रतिबद्धतालाई व्यवहारमा उतार्न कार्ययोजना, समयसीमा, जिम्मेवार निकाय र मापनयोग्य उपलब्धिसहित कार्यक्रम कार्यान्वयन गर्ने संकल्प गरेको छ ।

यसका लागि संघ, प्रदेश र स्थानीय सरकार, विकास साझेदार, गैरसरकारी संस्था, निजी क्षेत्र, प्राज्ञिक तथा अनुसन्धान संस्था र समुदायबीच दीर्घकालीन साझेदारी तथा सहकार्य संयन्त्र विकास गरिने उल्लेख छ ।

त्यस्तै, जलवायु वित्त, प्रविधि र ज्ञानमा स्थानीय तहको पहुँच विस्तार गर्दै पारदर्शी अनुगमन, नियमित समीक्षा र सार्वजनिक जवाफदेहिताको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्