सप्तपाताल बुवाका लागि पोखरी मात्र थिएन : किरण स्थापित
काठमाडौं । ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणपछि उद्घाटन गरिएको छ । शनिबार लगनखेल वातावरण संरक्षण समितिको सहकार्यमा ललितपुर महानगरपालिकाले पुनर्निर्माण गरेको पार्कसहितको सप्तपाताल पोखरीको उद्घाटन कार्यक्रममा सम्पदा संरक्षक पूर्ण स्थापितका छोरा किरण स्थापितले पोखरी संरक्षणका लागि आफ्ना बुवाले गरेको लामो संघर्ष स्मरण गरे ।
किरण स्थापितले सप्तपाताल पोखरी आफ्ना बुवाका लागि पोखरी मात्र नभई इतिहास, संस्कृति र वातावरणसँग जोडिएको सम्पदा रहेको बताए । भावी पुस्तालाई अझ सुरक्षित अवस्थामा सम्पदा हस्तान्तरण गर्नुपर्छ भन्ने सोचका साथ पूर्ण स्थापितले सप्तपाताल संरक्षणको अभियान अघि बढाएको उनले बताए ।
उनले सप्तपाताल संरक्षणको अभियान सहज नभएको भन्दै यसका पछाडि वर्षौंको संघर्ष, निराशा र विभिन्न बाधा रहेको बताए । पोखरी अतिक्रमणमा परेको जग्गा फिर्ता गराउन तथा संरक्षणका लागि नमुना मछिन्द्रनाथ विद्यालयसँग समेत कानुनी संघर्ष गर्नुपरेको उनले स्मरण गरेका छन् ।
‘सप्तपाताल पोखरी धेरैका लागि एउटा पोखरी मात्र थियो तर मेरो बुवाका लागि हाम्रो इतिहास थियो, यो हाम्रो संस्कृति थियो, यो हाम्रो वातावरण थियो,’ उनले भने, ‘उहाँ बारम्बार भन्नुहुन्थ्यो– हामीले पुर्खाबाट पाएको सम्पदा आफ्नै पुस्ताका लागि मात्र होइन, भावी पुस्ताले अझ संरक्षित अवस्थामा हस्तान्तरण गर्नुपर्छ।’
कानुनी प्रक्रिया लामो र कठिन भए पनि पूर्ण स्थापितले आफ्नो अडान नछाडेको किरणले बताए । परिवारका सदस्यले लामो समय र ऊर्जा किन यस अभियानमा लगाइरहेको भनेर प्रश्न गर्दा आफ्नो बुवाले ‘यो मेरो लागि होइन, समाजका लागि हो’ भन्ने जवाफ दिने गरेको उनले सुनाए ।
सप्तपाताल पोखरी पुनर्निर्माणमा ललितपुर महानगरपालिकाले खेलेको भूमिकाप्रति उनले परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे। नगरप्रमुख चिरिबाबु महर्जनले पूर्ण स्थापितलाई दिएको प्रतिबद्धताले पोखरी पुनर्निर्माणको काम अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
‘पूर्ण दाइ, यो पोखरी बनाउने जिम्मा मेरो’ भन्ने नगरप्रमुख महर्जनको प्रतिबद्धता स्मरण गर्दै उनले महानगरपालिकाको अग्रसरताकै कारण सप्तपाताल पोखरीको पुनर्निर्माणको चरणसम्म आइपुग्न सम्भव भएको बताए।


प्रतिक्रिया दिनुहोस्