पत्रकारितामाथिको आक्रमण लोकतन्त्रका लागि गम्भीर खतरा : आङ्देम्बे
इटहरी । नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले पत्रकारितामाथिको आक्रमण लोकतन्त्रका लागि गम्भीर चुनौती भएको बताएका छन् ।
शनिबार इटहरीमा नेपाल प्रेस युनियन सुनसरीको १० औं अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले लोकप्रियतावादबाट तानाशाहको जन्म हुनसक्ने भन्दै पछिल्लो राजनीतिक अवस्थाप्रति संवेदनशील बन्नुपर्ने बताएका हुन् ।
उनले लोकतन्त्र प्राप्तिका लागि जीवन समर्पण गरेका पुस्ताको योगदानलाई बेवास्ता गर्दा मुलुक गलत दिशातर्फ जानसक्ने बताए ।
मुलुक अन्तर्राष्ट्रिय शक्तिहरूको ‘क्रीडास्थल’ बन्ने खतरा बढेको भन्दै उनले राष्ट्र, राष्ट्रियता र त्यससँग जोडिएका भावनाप्रति संवेदनशील हुनुपर्ने धारणा राखे ।
अघिल्लो समयको दुईतिहाइको राजनीतिक शक्तिले गरेको व्यवहारकै कारण अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
उनले अहिले प्राप्त भएको दुईतिहाइलाई पनि विगतको जस्तै सामान्य रूपमा नलिई गम्भीर र जिम्मेवार ढंगले अघि बढ्नुपर्ने बताए ।
आङ्देम्बेले सञ्चारमाध्यमले पाउने विज्ञापनमा भइरहेको कटौतीप्रति समेत दुःख व्यक्त गरे । उनले प्रेस स्वतन्त्रता कमजोर पार्ने कुनै पनि गतिविधिले लोकतन्त्रलाई नै संकटमा पार्ने बताए ।
प्रेस काउन्सिल विधेयक तथा प्रेससँग सम्बन्धित कानुन निर्माण गर्दा सरोकारवालासँग पर्याप्त संवाद गर्नुपर्नेमा उनले जोड दिए । उनले सञ्चार क्षेत्रसँग सम्बन्धित कानुन निर्माणमा पत्रकार, सञ्चारमाध्यम र अन्य सरोकारवालाको सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस्