काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा क्षेत्र हुँदै आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन्। उनले प्रभावित नागरिकको उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सरकार, राजनीतिक दल तथा सामाजिक संघ–संस्थालाई आग्रह गरेका हुन्।
राष्ट्रपतिले एक वक्तव्य जारी गर्दै सुरक्षाकर्मी सहित सबै सम्बन्धित निकाय र आम नागरिकलाई समेत उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न आह्वान गरेका हुन्। उनले प्राकृतिक विपत्तिको यस घडीमा सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीबाट धनजनको क्षति भएको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको राष्ट्रपति पौडेलले जनाएका छन्। साथै उनले प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
राष्ट्रपतिले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।


प्रतिक्रिया दिनुहोस्