काठमाडौं । रसुवागढी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी भन्सार कार्यालय र नाकाको व्यापारमा ठूलो क्षति पुगेको छ। बुधबार साँझ ८ बजेसम्मको प्रारम्भिक विवरणअनुसार भन्सार कार्यालयका १५ जना कर्मचारी सम्पर्कविहीन रहेका छन्।
बाढीमा परेर घाइते भएका रसुवागढी भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा ९नासु० धर्मराज शाही र तिलक पराजुलीलाई उद्धार गरी काठमाडौं ल्याइएको छ। दुवै जनाको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
अर्थमन्त्रीले अस्पताल पुगेर शाही र पराजुलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले उनीहरूसँगै उद्धार भएर काठमाडौं आएका हाइड्रोपावरका कर्मचारी धनबहादुर थापा मगरलाई समेत भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
यस्तै, रसुवागढी भन्सार प्रमुखसहित ८ जना कर्मचारीको हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ। उनीहरू भन्सार विभागमा पुगेका छन्। अर्थमन्त्रीले भन्सार विभाग पुगेर उनीहरूसँग घटनाबारे जानकारी लिनुभएको छ।
भन्सार कार्यालयका थप ८ जना कर्मचारी भने अहिले पनि रसुवागढीमै रहेका छन्। उनीहरूको उद्धारका लागि प्रयास जारी रहेको जनाइएको छ। उनीहरू अर्थ मन्त्रालय तथा भन्सार प्रशासनको सम्पर्कमा रहेको बताइएको छ।
हालसम्मको विवरणअनुसार रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारी सम्पर्कविहीन छन्। बाढीका कारण भन्सार प्रशासनसँगै रसुवागढी नाकाबाट हुने व्यापारमा समेत ठूलो असर परेको छ।


प्रतिक्रिया दिनुहोस्