काठमाडौँ। भोटेकोशी नदीको बाढीले अवरुद्ध बनेको नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् सेवा वैकल्पिक प्रसारण प्रणालीमार्फत पुनः सञ्चालनमा ल्याइएको छ। प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुर क्षेत्रमा सिन्धुपाल्चोकतर्फबाट अस्थायी लाइन जोडेर आपूर्ति गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार चपली–देवीघाट र बालाजु–त्रिशूली ६६ केभी लाइनलाई ११ केभीमा चार्ज गर्ने काम जारी छ र बाँकी प्राविधिक कार्य सकेर छिट्टै पूर्ण सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। केही स्थानमा धादिङको सल्यानटार सबस्टेसनबाट समेत विद्युत् आपूर्ति गरिएको छ।
क्षतिग्रस्त संरचनाको मर्मत तथा वैकल्पिक आपूर्ति विस्तारका लागि प्राधिकरणले प्राविधिक टोली, उपकरण र स्रोतसाधनसहित नुवाकोटमा परिचालन गरेको छ। टोलीले प्रभावित क्षेत्रमा निरीक्षण र मर्मत कार्यलाई तीव्रता दिएको जनाएको छ।
ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनपछि प्राधिकरणको उच्चस्तरीय टोली नुवाकोट खटिएको छ र साँझसम्म सेवा नियमित गर्ने प्रयास भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्