Skip to content

वैदिक सभ्यता अनुसार रक्षाबन्धनको विशेष महत्व छ, ‘राखी’ विदेशी नक्कल हो : ज्योतिष/पण्डित नेपाल

nmb bank inside

वैदिक सभ्यता अनुसार रक्षाबन्धनको विशेष महत्व छ, ‘राखी’ विदेशी नक्कल हो : ज्योतिष/पण्डित नेपाल

रक्षाबन्धन रक्षाको कवच हो, यसको पृथक महत्व छ : ज्योतिष/पण्डित मुकुन्द नेपाल

काठमाडौं । जनै पूर्णिमाका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष श्रद्धा र आस्थाका साथ यज्ञोपवीत फेर्ने तथा रक्षासूत्र धारण गर्ने परम्परा छ । विशेषगरी उपनयन संस्कार सम्पन्न गरेका ब्राह्मण, क्षत्रिय तथा वैश्य समुदायका पुरुषहरूले वैदिक विधिअनुसार मन्त्र गरिएको नयाँ जनै धारण गर्ने चलन छ ।

यज्ञोपवीतलाई जनै, उपवीत, यज्ञसूत्र तथा ब्रह्मसूत्रलगायत विभिन्न नामले चिनिन्छ । मन्त्र गरिएको पवित्र धागोलाई देब्रे काँधमाथिबाट दाहिने हातमुनि पर्ने गरी धारण गर्ने परम्परा छ । हिन्दु दर्शनअनुसार मानिसको जीवनलाई १६ संस्कारसँग जोडिएको मानिन्छ, जसमध्ये उपनयन संस्कार पनि एक महत्वपूर्ण संस्कार हो । 

नेपाल न्यूज बैंकसँग कुरा गर्दै ज्योतिष पण्डित मुकुन्द नेपालले उपनयन संस्कारलाई ज्ञान र ब्रह्मतत्वसँग नजिक जाने महत्वपूर्ण प्रक्रियाका रूपमा व्याख्या गरे । 

उनले भने, ‘विशेषगरी वैदिक सनातन धर्मावलम्बीहरूमा १६ वटा संस्कार हुन्छन् । तीमध्ये गर्भाधानदेखि मृत्युपर्यन्तका संस्कार अत्यन्त महत्वपूर्ण छन् । चुडाकर्म, उपनयन, वेदारम्भ र समावर्तनजस्ता संस्कारमध्ये उपनयन संस्कारमा यज्ञोपवीत धारण गरिन्छ । यज्ञोपवीतलाई ब्रह्मसूत्र पनि भनिन्छ । उपनयन भनेको ज्ञानका लागि तेस्रो आँखाको उदयसँग जोडिएको संस्कार हो ।’

परम्पराअनुसार बाल्यकालपछि विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरिन्छ । गुरु वा पुरोहितले गायत्री मन्त्रको दीक्षा दिएपछि धर्म, सत्य र निष्ठाको मार्गमा अघि बढ्ने संकल्पसहित यज्ञोपवीत धारण गराइन्छ । यज्ञोपवीत केवल शरीरमा लगाइने धागो मात्र नभई अनुशासन, ज्ञान र आध्यात्मिक निष्ठाको प्रतीकका रूपमा समेत लिइन्छ ।

पण्डित नेपालका अनुसार यज्ञोपवीत धारण गरेकाहरूले परम्पराअनुसार सन्ध्यावन्दन तथा जपकर्म गर्ने चलन छ । यसबाट व्यक्तिमा ब्रह्मनिष्ठा, तेज र आध्यात्मिक शक्तिको कामना गरिने विश्वास छ ।

‘यज्ञोपवीत धारण गरिसकेका व्यक्तिहरूले प्रातःकाल र सायंकाल जपकर्म तथा सन्ध्यावन्दन गर्ने परम्परा छ । सबैले अहिले त्रिकाल सन्ध्या गर्न नसके पनि यसको मूल मान्यता आफूमाथि ब्रह्मनिष्ठ तेज र शक्तिको कामना गर्नु हो । त्यसैले यज्ञोपवीत अत्यन्त महत्वपूर्ण विषय हो,’ उनले भने । 

जनै पूर्णिमाका दिन मात्रै जनै फेर्नुपर्छ भन्ने होइन । धार्मिक मान्यता र परम्पराअनुसार अशौच परेको अवस्थामा वा निश्चित धार्मिक परिस्थितिमा पनि जनै परिवर्तन गर्नुपर्ने हुन्छ । तर श्रावण शुक्ल पूर्णिमालाई विधिपूर्वक नयाँ जनै धारण गर्ने विशेष दिनका रूपमा मानिन्छ ।

यस दिन बिहानै स्नान गरी नदी, तलाउ वा जलाशयमा गएर ऋषिहरूको पूजा तथा तर्पण गर्ने चलन छ । त्यसपछि वैदिक मन्त्रद्वारा अभिमन्त्रित गरिएको यज्ञोपवीत धारण गरिन्छ ।

‘यज्ञोपवीत साधारण धागोका रूपमा लगाउन मिल्दैन । वेदका मन्त्रद्वारा अभिमन्त्रित गरी ब्रह्मा, विष्णु, महेश्वर तथा तन्तु देवताको पूजा गरिसकेपछि मात्र यज्ञोपवीत धारण गरिन्छ । जनै पूर्णिमाका दिन नयाँ यज्ञोपवीत लगाउँदै आफूमाथि तेज र शक्तिको वृद्धिको कामना गरिन्छ,’ उनले भने । 

पण्डित नेपालका अनुसार हरेक पूर्णिमाको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व भए पनि श्रावण शुक्ल पूर्णिमामा ऋषितर्पणी र जनै पूर्णिमाको विशेष महत्व भएकाले यस पर्वलाई अलग रूपमा मनाइन्छ ।

यज्ञोपवीत (जनै) धारण गर्ने विषयलाई केवल जातीय पहिचानसँग मात्र जोडेर बुझ्न नहुने उनको भनाइ छ । उपनयन संस्कार सम्पन्न गरेकाले यज्ञोपवीत धारण गर्नुपर्ने र यसको मुख्य अर्थ आत्मअनुशासन, ब्रह्मतेज तथा आध्यात्मिक चेतनाको विकाससँग जोडिएको उनले बताए । 

‘यज्ञोपवीत केवल एउटा धागो होइन । यो भित्र रहेको ब्रह्मतेज र शक्तिको कामना गर्दै धारण गरिन्छ । शिखाबन्धन र यज्ञोपवीतजस्ता कर्म व्यक्तिको आत्मरक्षासँग पनि जोडिएका छन् । ब्रह्मसूत्र धारण गरेपछि व्यक्तिमा ब्रह्मभाव बुझ्ने क्षमता विकसित हुन्छ भन्ने मान्यता छ ।’

जनै पूर्णिमासँगै रक्षाबन्धन अर्थात् रक्षासूत्र धारण गर्ने परम्परा पनि जोडिएको छ । वैदिक मान्यताअनुसार गुरु वा पुरोहितले मन्त्र उच्चारण गरी रक्षासूत्र बाँधिदिने चलन छ । रक्षासूत्रलाई विभिन्न नकारात्मक शक्ति, संकट तथा विकृतिबाट बचाउने धार्मिक कवचका रूपमा लिइन्छ ।

यस क्रममा ‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ भन्ने मन्त्र उच्चारण गर्ने परम्परा रहेको छ ।

उनले भने, ‘रक्षाबन्धन रक्षाको कवच हो । परापूर्वकालमा बली राजा तथा इन्द्रले पनि संकटबाट रक्षा र विजयका लागि मन्त्रद्वारा अभिमन्त्रित रक्षासूत्र धारण गरेको धार्मिक मान्यता छ । मानिसभित्र रहेका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता षड्विकारमाथि विजय प्राप्त गर्न तथा नकारात्मक भावबाट जोगिन रक्षासूत्र धारण गरिन्छ।’

उनले पछिल्लो समय रक्षाबन्धनलाई ‘राखी’सँग जोडेर फरक ढंगले मनाउने प्रचलन बढेको उल्लेख गर्दै वैदिक परम्परामा स्त्री वा पुरुष सबैले गुरु वा पुरोहितबाट रक्षासूत्र धारण गर्ने परम्परा रहेको बताए । 

‘रक्षाबन्धन दाइ र भाइका लागि मात्र होइन, स्त्री र पुरुष सबैले धारण गर्न मिल्छ । हाम्रो वैदिक परम्पराअनुसार गुरुदेवको करकमलबाट रक्षासूत्र बाँध्ने चलन हो । यसलाई केवल राखीको रूपमा सीमित गरेर हेर्नुभन्दा यसको मूल वैदिक र आध्यात्मिक महत्व बुझ्न आवश्यक छ,’ उनले भने । 

उनले रक्षाबन्धनलाई ‘राखी’ भन्दै मनाइने चलन वैदिक संस्कारमा नरहेको भन्दै विकृति र विसङ्गतिरुपमा रहेको बताए ।

उनले भने, ‘यो विकृति र विसङ्गति मानिएको छ । यो कसरी भइरहेको छ भने रक्षाबन्धन रक्षासुत्र नै धारण गर्ने हो त्यहाँ राखी भन्ने विषय रहन्न । अहिले पाश्चात्य अथवा अरुको नक्कल गरिरहेका छौ । हाम्रो रक्षाबन्धन हो, राखी होइन नि । राखी बाँध्ने भन्ने विषय वैदिक सभ्यतामा नेपालमा परम्परा नै थिएन । अहिले भारतबाट अथवा अरु कुनै मुलुकबाट सिको गर्दै आइरहेको तर वैदिक सभ्यता अनुसार रक्षाबन्धन नै धारण गर्ने हो ।’

उनले रक्षाबन्धनका रुपमा लगाइने धागोलाइ रक्षाको कवच रहेको उल्लेख गर्दै नकरात्मक शक्तिबाट जोगिनको लागि लगाउने चिज रक्षाबन्धन भएको बताए । 

‘रक्षाको कवच हो । यो लगाउँदै गर्दाखेरि आफ्नो एउटा आत्मरक्षाको कुरा हुन्छ । हिजो परापूर्व कालमा युद्धको समयमा बृहस्पतिको करकमलबाट इन्द्रले पनि धारण गरेर दैत्यहरुलाई परास्त पार्न सफल हुनुभएको थियो । हामी भित्र पनि काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य आदि गरेका छवटा शत्रुहरु छन् । ती शत्रुहरुलाई जितेर अहं ब्रह्मास्मि भाव जाग्न सकौँ, म भित्र भगवानको वास छ भन्ने कुरा बुझ्न सकौँ नकरात्मक शक्तिबाट जोगिनको लागि लगाउने चिज हो रक्षाबन्धन ।’

यसरी जनै पूर्णिमा यज्ञोपवीत परिवर्तन गर्ने पर्व मात्र नभई ऋषिप्रति श्रद्धा व्यक्त गर्ने, ज्ञान र सत्यको मार्गमा अघि बढ्ने संकल्प गर्ने तथा आत्मरक्षा र आध्यात्मिक शुद्धिको कामना गर्ने विशेष पर्वका रूपमा मनाइँदै आएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्