Skip to content

रोकियो स्वास्थ्यकर्मीको बिदा, उद्धार र उपचारमा खटिन मन्त्रालयको निर्देशन

nmb bank inside

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले विषम परिस्थितिलाई मध्यनजर गर्दै अत्यावश्यक अवस्थाबाहेक बाहेक बिदा नलिन आग्रह गरेको हो।

मन्त्रालयले शुक्रबार जारी गरेको निर्देशनअनुसार सार्वजनिक बिदाका दिनमा समेत खोज, उद्धार तथा उपचार सेवाका लागि सबै कर्मचारीलाई तयारी अवस्थामा रहन भनिएको छ।

निर्देशनमा रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार तथा राहतका कार्य तीव्र रूपमा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनमा खटिन सक्ने गरी विशेष कारण र अत्यावश्यक कामबाहेक बिदा तथा काज स्वीकृत नगर्न वा नगराउन स्पष्ट निर्देशन दिएको छ।

त्यस्तै, खोज, उद्धार तथा उपचारसँग सम्बन्धित निकायका प्रमुख, फोकल पर्सन तथा जिम्मेवार पदाधिकारीलाई सार्वजनिक बिदाका दिनमा समेत कार्यालयमा अनिवार्य उपस्थित हुन भनिएको छ। अन्य कर्मचारीलाई पनि आवश्यक पर्दा तुरुन्त खटिन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई भने बाढीपहिरो प्रभावित घाइतेहरूको उपचारका लागि सार्वजनिक बिदाका दिनमा समेत आवश्यक जनशक्ति, औषधि र सेवा व्यवस्थापन मिलाउन मन्त्रालयले आग्रह गरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्