बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न ऊर्जा मन्त्रालयको उच्च प्राथमिकता
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त विद्युत् पूर्वाधार पुनःस्थापना तथा प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काम तीव्र बनाएको छ ।
मन्त्रालयका अनुसार बाढीबाट प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजना, विद्युत् संरचना तथा प्रभावित समुदायको उद्धार, राहत, समन्वय र विद्युत् आपूर्ति पुनःसुचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकोटको त्रिशूली पुगेर गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, नेपाली सेनाका उच्च अधिकारी, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित निकायका पदाधिकारीसँग संयुक्त छलफल गरेका छन् ।
छलफलमा उद्धार कार्यको प्रगति, बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको अवस्था तथा आगामी दिनमा विद्युत् सेवा पुनःसुचारु गर्ने रणनीतिबारे समीक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाको नेतृत्वमा प्राविधिक टोलीले निरन्तर काम गरिरहेको मन्त्रालयले जनाएको छ। उद्धारमा संलग्न अधिकारीहरूले घटनास्थलको अवस्था, हालसम्मको प्रगति तथा प्राविधिक र भौगोलिक चुनौतीबारे मन्त्रीलाई जानकारी गराएका छन् ।
मन्त्रालयले उद्धार कार्यलाई सुरक्षित, प्रभावकारी र शीघ्र सम्पन्न गर्न आवश्यक निर्देशन तथा समन्वय भइरहेको जनाएको छ ।
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा सेवा पुनःसुचारु गर्न चिनियाँ लगानीको ७८ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोड मा सञ्चालन गर्ने तयारी गरिएको छ । यसका लागि आवश्यक प्राविधिक समन्वय र उपकरण व्यवस्थापन गर्न ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग समन्वय गर्न पत्राचार गरेको छ ।
तत्काल विद्युत् सेवा सुचारु गर्न नसकिने क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य ऊर्जालगायत वैकल्पिक ऊर्जा प्रणाली परिचालन गर्ने तयारी भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको निरन्तर प्रयासपछि रसुवाको कालिका र नौकुण्ड गाउँपालिकाका अधिकांश क्षेत्रमा तथा गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चे, भार्खु र गोसाइँकुण्ड क्षेत्रमा विद्युत् सेवा सुचारु भएको मन्त्रालयले जनाएको छ ।
बाँकी प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी विद्युत् सेवा यथाशीघ्र नियमित गर्ने काम भइरहेको छ । दुर्गम क्षेत्रमा पोर्टेबल सौर्य प्रणालीमार्फत विद्युत् सेवा उपलब्ध गराउने तयारीसमेत गरिएको छ ।
स्थलगत अनुगमनका क्रममा मन्त्री श्रेष्ठले बाढी प्रभावित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था, आवश्यकता र पुनःस्थापनासम्बन्धी विषयमा जानकारी लिएका छन्। सरकारले उद्धार, राहत, विद्युत् सेवा सुचारु तथा दीर्घकालीन पुनर्निर्माणका काम सम्बन्धित सबै निकायसँग समन्वय गरी अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा रसुवाको टिमुरेमा रियल–टाइम बाढी अवलोकन तथा निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको छ । उक्त प्रणाली सञ्चालनका लागि भीस्याट र सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको र सम्भवतः सोमबार रातिदेखि नै प्रणाली सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्