Skip to content

ग्यासका लागि लाइन बसेका उपभोक्ता भन्छन् : ‘दालमोठ र चिउराले छाक टार्दैछौं’

nmb bank inside

आकांक्षा धामी, नेपाल न्यूज बैंक

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गरेको छ ।

उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले ग्यास उद्योगीमार्फत बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गरिएको हो । ग्यास खरिदका लागि उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको थियो ।

बबरमहलबाट नेपाल, एचपी, एभरेष्ट÷सुगम, श्रीराम, सागर, हिमाल, लोकप्रिया र सूर्यलगायत ब्रान्डका ग्यास बिक्री गरिएको थियो । ग्यास वितरण हुने जानकारी पाएपछि बिहानैदेखि उपभोक्ताको उल्लेख्य भीड लागेको थियो ।

ग्यास लिन पुगेका उपभोक्ताको संख्या बढ्दै गएपछि वितरणस्थलमा भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो । पानी परेपछि समेत उपभोक्ताहरू रुझ्दै लामो समयसम्म लाइनमा बसेका थिए ।

बबरमहलमा ग्यास लिन पुगेका मधुसुधन अधिकारीले आफू करिब ४५ मिनेटदेखि लाइनमा बसेको बताए । उनले यसअघि टेकु र साल्ट ट्रेडिङलगायतका स्थानमा ग्यास खोजे पनि सहज रूपमा पाउन नसकेको गुनासो गरे ।

‘टेकु गएँ, त्यहाँ पनि भीड थियो । साल्ट ट्रेडिङमा तीन दिनभन्दा अगाडि ग्यास नपाइने रहेछ । पसलमा पनि १२–१३ ठाउँमा सोधिसकेँ, सबै पसल बन्द गरेर बसेका छन्,’ अधिकारीले भने, ‘अब सरकारलाई के भन्नु ? जुन सरकार आए पनि यस्तै हो ।’

उनका अनुसार ग्यास अभावका कारण दैनिक खाना पकाउनसमेत समस्या भएको छ । ‘अहिले जसोतसो ओभनमा उमाल्ने चिजहरू उमालेर खाइरहेको छु,’उनले भने ।

त्यस्तै, छत्रबहादुर कार्कीले आफू करिब एक घण्टादेखि लाइनमा बसे पनि ग्यास नपाएको बताए । घरमा ग्यास सकिएपछि खाना पकाउन नसकेको उनको भनाइ छ ।

‘घरमा ग्यास अभाव भएर खाना पकाउन सकेका छैनौँ । दालमोठ र चिउरा खाएर बसेको अवस्था छ,’ कार्कीले भने, ‘ग्यास नपाएर जनता भोकै बस्नुपर्ने अवस्था नआओस् ।’

अर्का उपभोक्ता किशोर श्रेष्ठले भने करिब दुई घण्टा लाइनमा बसेपछि ग्यास पाएको बताए । बिदाको दिन भएकाले ग्यास लिन आउने उपभोक्ताको संख्या धेरै भएको उनको भनाइ छ ।

‘लामो समय लाइनमा बसेपछि ग्यास पाइयो । आज बिदाको दिन भएकाले ग्यास लिन आउनेको भीड धेरै छ,’ श्रेष्ठले भने, ‘ग्यास वितरण भइरहेको छ । विस्तारै सहज अवस्था आउँछ भन्ने विश्वास गरौँ।’

एलपी ग्यासको आपूर्ति नियमित हुन नसक्दा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पछिल्लो समय उपभोक्ताले अभाव र लामो लाइनको सामना गरिरहेका छन् । 

शनिबार बबरमहलमा गरिएको वितरणले तत्कालका लागि केही उपभोक्तालाई राहत दिए पनि ठूलो संख्यामा उपभोक्ता ग्यासको प्रतीक्षामा रहेका देखिन्थे ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्