काठमाडौँ । भदौ महिना सुरु भएसँगै अन्डाको मूल्य फेरी बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी सबै प्रकारका अन्डाको भाउ बढाएको हो।
योसँगै अब सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ। यस्तै, ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५७५ रुपैयाँ र मिडियम अन्डाको मूल्य प्रतिक्रेट ५३५ रुपैयाँ कायम गरिएको छ। सानो अन्डाको मूल्य भने प्रतिपेटी ३२ सय रुपैयाँ तोकिएको छ।
संघले एक सातामै अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो। यसअघि ३० साउनदेखि लागू हुने गरी एक्सएल अन्डाको मूल्य ५७५ रुपैयाँ, ठूलो अन्डा ५६० रुपैयाँ र मिडियम अन्डा ५२० रुपैयाँ तोकिएको थियो।
पछिल्लो समय अन्डाको मूल्य लगातार बढ्दो क्रममा रहेको छ। साउन महिनामा मात्रै संघले चार पटक मूल्य वृद्धि गरेको थियो। साउनको सुरुवातमा एक्सएल अन्डाको मूल्य ५२५ रुपैयाँ रहेकामा महिनाको अन्त्यसम्म ५७५ रुपैयाँ पुर्याइएको थियो। भदौ लागेसँगै पुनः १५ रुपैयाँ थप गरी ५९० रुपैयाँ पुर्याइएको हो।
अन्डाको मूल्य निरन्तर बढ्नुको मुख्य कारण उत्पादनमा आएको कमी रहेको व्यवसायीहरू बताउँछन्। बर्डफ्लु संक्रमणका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपरेको, कुखुरा मरेपछि अन्डा उत्पादनमा गिरावट आएको र बजारको माग धान्न कठिन भएकोले मूल्य बढाउन बाध्य भएको संघका अध्यक्ष विनोद पोखरेलले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्