विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता
काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सहजीकरण तथा विदेशमा अभिभावकीय सहयोग उपलव्ध गराउने उद्देश्यले नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौता अनुसार दुवै संस्थाले विद्यार्थीका समस्या न्यूनीकरण गर्दै सुरक्षित र व्यवस्थित रूपमा विदेश अध्ययनको वातावरण बनाउन सहकार्य गर्ने जनाएका छन्। सम्झौता पत्रमा इक्यानका अध्यक्ष लक्ष्मण पौडेल र एनआरएनएका अध्यक्ष डा.हेमराज शर्मा हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा बोल्दै इक्यानका अध्यक्ष लक्ष्मण पौडेलले एनआरएनएसँगको सहकार्य विदेश जाने विद्यार्थीले विदेशमा पुगेर समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले महत्वपूर्ण रहेको बताए । उनले विद्यार्थीलाई विदेशमा स्थानीय अभिभावकको आवश्यकता पर्ने अवस्थालाई मध्यनजर गर्दै एनआरएनएको सञ्जालमार्फत उनीहरूलाई सहयोग पुर्याउन सकिने धारणा राखे ।
‘एनआरएनएसँगको सहकार्यले विदेशमा पुगेपछि विद्यार्थीले समस्या झेल्न नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो,’ अध्यक्ष पौडेलले भने । उनका अनुसार विद्यार्थी विदेश जाने क्रममा आवश्यक जानकारी र परामर्श प्राप्त गर्नुका साथै गन्तव्य मुलुकमा पुगेपछि पनि आवश्यक पर्दा अभिभावकत्वको सहयोग पाउने वातावरण बनाउन यो सहकार्य उपयोगी हुनेछ ।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष तथा विद्यार्थी सहयोग कमिटीका सभापति दिनेश पोखरेलले इक्यान र एनआरएनएबीच सहकार्यको विषयमा यसअघि नै छलफल हुँदै आएको र विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीका हितमा दुवै संस्थाबीच सहकार्य आवश्यक रहेकोले एमओयू भएको जानकारी दिए ।
पोखरेलले इक्यानमा आवद्ध संस्थाले विदेश जान लागेका विद्यार्थीलाई स्वदेशमा आवश्यक परामर्श तथा काउन्सिलिङ उपलब्ध गराउने र विदेश पुगेपछि एनआरएनएले अभिभावकीय भूमिका निर्वाह गर्ने गरी सहकार्य अघि बढाइने बताए ।
‘स्वदेशमा इक्यानले र विदेशमा एनआरएनएले सहयोग गर्ने गरी काम गर्न सकिन्छ,’ उनले भने । विद्यार्थीलाई विदेश जानुअघि गन्तव्य मुलुक, त्यहाँको अवस्था, सम्भावित चुनौती तथा आवश्यक सावधानीबारे जानकारी दिनुका साथै विदेश पुगेपछि पनि आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्य रहेको उनले स्पष्ट पारे ।
उनले पनि अहिले भएको सहकार्यलाई सुरुवातका रूपमा लिनुपर्ने बताउँदै आगामी दिनमा थप क्षेत्रमा सहकार्य विस्तार गरिने बताए ।
कार्यक्रममा एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले नेपाली विद्यार्थी विदेश जाँदा अहिले विभिन्न किसिमका समस्या सामना गरिरहेको बताए । विशेषगरी विदेश पुगेपछि काम खोज्ने, खाने तथा बस्ने व्यवस्था मिलाउने, नयाँ वातावरणमा घुलमिल हुनेलगायतका विषयमा विद्यार्थीले समस्या भोग्ने गरेको उनको भनाइ थियो ।
एनआरएनएले विदेशमा रहेका नेपाली तथा विद्यार्थीलाई आवश्यक सहयोग गर्दै आएको उल्लेख गर्दै डा. शर्माले इक्यान र एनआरएनएबीचको सहकार्यले विद्यार्थीलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सहयोग गर्न सकिने बताए ।
‘विदेश जाने विद्यार्थीलाई एनआरएनएले स्वदेशमै जानकारी दिने उद्देश्यले अभिमुखीकरण तथा परामर्श कार्यक्रम सुरु गर्नेछ,’ डा. शर्माले भने । उनका अनुसार एनआरएनएको कार्यालयबाटै त्यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
विद्यार्थीलाई विदेश जानुअघि सम्बन्धित देशको शिक्षा प्रणाली, रोजगारीको अवस्था, कानुनी व्यवस्था, बसोबास, स्वास्थ्य, मानसिक स्वास्थ्यलगायतका विषयमा आवश्यक जानकारी उपलब्ध गराउन सके विदेश पुगेपछि आइपर्ने धेरै समस्या न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
विदेशमा अध्ययनरत विद्यार्थीको मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा एनआरएनए अध्यक्ष शर्माले जोड दिए । विदेशमा नयाँ वातावरण, अध्ययनको दबाब, आर्थिक चुनौती, एक्लोपन तथा पारिवारिक दूरीका कारण विद्यार्थीले मानसिक तनाव सामना गर्न सक्ने भएकाले उनीहरूलाई आवश्यक परामर्श र सहयोगको पहुँचमा राख्नुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी, विदेश अध्ययनपछि नेपाल फर्किएका युवाले विदेशमा सिकेको सीप, ज्ञान र कमाएको पुँजीलाई स्वदेशको विकासमा उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने विषयमा पनि उनले जोड दिए । विदेशबाट प्राप्त ज्ञान, सीप र पुँजीलाई नेपालमै उपयोग गर्न सक्ने वातावरण बनाउन राज्यले समेत विशेष कार्यक्रम अघि बढाउनुपर्ने उनको धारणा थियो ।
इक्यान र एनआरएनएबीच भएको सहकार्यले विदेश अध्ययनका लागि जाने विद्यार्थीको यात्रालाई केवल शैक्षिक परामर्शमा सीमित नराखी विदेश पुगेपछि पनि आवश्यक सहयोग र संरक्षणको पहुँचमा पु¥याउने अपेक्षा गरिएको छ । दुवै संस्थाले आगामी दिनमा विद्यार्थीको हित, सुरक्षित वैदेशिक अध्ययन, मानसिक स्वास्थ्य, अभिमुखीकरण, परामर्श तथा विदेशबाट फर्किएपछि सीप र पुँजीको सदुपयोगलगायतका विषयमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
दुवै संस्थाका प्रतिनिधिहरूले सम्झौतालाई सुरुवाती कदमका रूपमा लिँदै आगामी दिनमा विद्यार्थी तथा नेपाली समुदायसँग प्रत्यक्ष जोडिएका थप कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म आवश्यक जानकारी, परामर्श र सहयोग उपलब्ध गराउने संयन्त्र निर्माण गर्न सके विद्यार्थीले भोग्दै आएका धेरै समस्या समाधान गर्न सकिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्