Skip to content

भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह

nmb bank inside

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अर्को सूचना जारी नभएसम्म नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

प्राधिकरणले रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । खोज तथा उद्धारको आवश्यकता परेमा वा कुनै सहायता आवश्यक भएमा सम्बन्धित टोल फ्रि नम्बरमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

यस्तै, प्राधिकरणले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न आग्रह गरेको छ । ती क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाउन स्थानीय तह तथा प्रशासनलाई अनुरोध गरिएको प्राधिकरणले जनाएको छ ।

विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबै पक्षलाई प्राधिकरणले अपिल गरेको छ ।

प्राधिकरणकी उपसचिव तथा प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा विपद्को जोखिमलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्