बिर्तामोड । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकमा नगर प्रमुख प्रसाईंले बाढीका कारण रसुवाको टिमुरे बजारदेखि स्याफ्रुबेसी, नुवाकोटको बेत्रावती, त्रिशूलीलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरिन् । उनले विपद्को घटनाले आफू स्तब्ध भएको बताइन् ।
उनले बाढीपीडितको उद्धार तथा राहतका लागि सरकारलाई आवश्यक सहयोग गर्न तथा मानवीय सेवामा जुट्न नागरिक, सङ्घसंस्था र निजी क्षेत्रलाई समेत अपिल गरिन् ।
बिर्तामोड नगरपालिकाले विपद्मा परेका नागरिकप्रति स्थानीय सरकारको दायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै सहयोग गर्ने निर्णय गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्