Skip to content

निजामती कर्मचारीबाट बाढीपीडितलाई करिब ३६ करोड रुपैयाँ योगदान गरिने

nmb bank inside

काठमाडौँ।निजामती कर्मचारीबाट बाढीपीडितलाई करिब ३६ करोड रुपैयाँ योगदान गरिने भएको छ। निजामती कर्मचारीबाट बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३६ करोड रुपैयाँ बराबरको योगदान जुट्ने भएको हो।

आज बसेको सचिवस्तरीय बैठकले भदौ महिनाको तलब भुक्तानी गर्दा सबै निजामती कर्मचारीबाट तोकिएको दिन बराबरको पारिश्रमिक कटौती गरी उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार श्रेणीविहीन कर्मचारीबाट सुरु तलब स्केलअनुसार २ दिनको तलब योगदान गरिनेछ। त्यसैगरी, राजपत्र अनंकित कर्मचारी वा सोसरहका कर्मचारीबाट ५ दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणीका कर्मचारीबाट ७ दिन बराबरको तलब योगदान गर्ने निर्णय गरिएको छ।

यस्तै, राजपत्रांकित प्रथम श्रेणी तथा विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको पारिश्रमिक योगदान गरिनेछ। संकलित रकम अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने व्यवस्था मिलाइने जनाइएको छ।

सरकारले प्रदेश सरकार, स्थानीय तह तथा अन्य सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई पनि सोही ढाँचाअनुसार योगदान गर्न आह्वान गरेको छ।

सरकारको यो निर्णय बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई राहत, उद्धार तथा पुनर्स्थापनामा आवश्यक स्रोत जुटाउने उद्देश्यले गरिएको बताइएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्