Skip to content

बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिने स्टारलिङ्कको घोषणा

nmb bank inside

काठमाडौँ । एलन मस्कको स्टारलिङ्कले बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको घोषणा गरेको छ । स्टारलिङ्कले नेपाल र तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै विपद् प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन तयार रहेको घोषणा गरेको हो।

शनिबार सामाजिक सञ्जाल एक्समार्फत कम्पनीले एक सन्देश जारी गर्दै नेपाल सरकार र मानवीय सहायतामा खटिएका निकायहरूलाई सघाउन तयार रहेको स्पष्ट पारेको छ।

कम्पनीले भनेको छ, ‘हामीलाई अनुमति प्राप्त हुनसाथ नेपाल सरकार र मानवीय साझेदारहरूलाई सहयोग गर्न स्टारलिङ्कका उपकरणहरू पठाउन र निःशुल्क सेवा उपलब्ध गराउन हामी तयार छौँ।’

बाढी र पहिरोका कारण धेरै ठाउँमा सडक, पुल र मोबाइल नेटवर्क पूर्ण रूपमा अवरुद्ध भएका छन्। यस्तो अवस्थामा स्टारलिङ्कको सञ्चार सेवा जीवनरक्षक साबित हुन सक्ने कम्पनीको विश्वास छ। किनभने यसले दुर्गम वा पूर्ण रूपमा सञ्चार विच्छेद भएका क्षेत्रमा पनि तुरुन्त इन्टरनेट उपलब्ध गराउन सक्छ।

कम्पनीका अनुसार उक्त सेवाबाट उद्धार टोलीबीच समन्वय गर्न, घाइतेहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जानकारी आदानप्रदान गर्न, सम्पर्कविहीन परिवारहरूलाई आफ्ना आफन्तसँग जोडिन मद्दत गर्ने जनाएको छ।

त्यस्तै, विपद्को समयमा निःशुल्क इन्टरनेटको प्रस्तावले नेपालमा आपतकालीन सञ्चारलाई सहज बनाउने र उद्धार कार्यलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्