हेलिकोप्टर उद्धारमा चाप बढेपछि वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहे पनि अत्यावश्यक अवस्थामा मात्र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ ।
सोमबार जारी गरेको सूचनाअनुसार प्राधिकरणले बाढी प्रभावित क्षेत्रबाट हालसम्म विदेशी २५२ जना र नेपाली तीन हजार ३४४ जनाको हवाई उद्धार भइसकेको जनाएको छ ।
तर न्यून प्रभावित, प्रभावित नभएका तथा उच्च स्थानमा सुरक्षित रहेका व्यक्तिहरूबाट समेत हेलिकोप्टरमार्फत उद्धारको माग भइरहेको भन्दै प्राधिकरणले यस्तो अवस्थामा सीमित हवाई स्रोतको दुरुपयोग हुन नदिन आग्रह गरेको हो ।
प्राधिकरणले आपतकालीन अवस्थामा हेलिकोप्टरलाई अत्यावश्यक खोज तथा उद्धार र राहत सामग्री ढुवानीमा मात्र प्रयोग गर्नुपर्ने जनाएको छ ।
क्रमशः वैकल्पिक सडकमार्गसमेत सञ्चालनमा आउन थालेकाले अत्यावश्यक हवाई उद्धार आवश्यक नभएका व्यक्तिहरूलाई उपलब्ध सडकमार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
धादिङ जिल्ला जोड्ने वैकल्पिक मार्गका रूपमा धादिङबेसी–परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट)–पृथ्वी राजमार्ग सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ ।
रसुवा जोड्ने वैकल्पिक मार्गका रूपमा विदुर–ढिकुरे–चौघडा–आप्र–नर्जा–लच्याङ–सरमर्थाले–पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग, रसुवा)–कालिकास्थान–धुन्चे सडक सञ्चालनमा आएको छ ।
उक्त मार्गमा हाल चारचक्के साना सवारीसाधन चल्न सक्ने अवस्था रहेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्