काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उद्योगीहरुलाई पुरानै दरमा ग्यास बिक्री वितरण गर्न आग्रह गरेको छ। सङ्घले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर दुई हजार ६० रुपैयाँकै दरमा शुक्रबारदेखि बिक्री गर्न अनुरोध गरेको हो।
पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि ग्यास आपूर्तिमा समस्या आएको थियो। उक्त अवरोधका कारण उद्योगीहरुले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ उपत्यकामा ग्यास आपूर्ति गर्दै आएका थिए।
यस क्रममा उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनुपरेको भन्दै उद्योगीहरुले ढुवानी खर्चबापत प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा थप गरी उपभोक्ताबाट असुल गर्दै आएका थिए।
गत भदौ १४ गतेदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास आपूर्ति गर्ने उद्योगहरुले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषा जिल्लास्थित उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट ग्यास ल्याएर बजारमा वितरण गर्दै आएका थिए।
हाल सङ्घले अवस्था सामान्य हुँदै गएको जनाउँदै अतिरिक्त शुल्क नलिई पुरानै दरमा ग्यास बिक्री गर्न उद्योगीहरुलाई निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस्