काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क बनाउन प्रस्ताव गरेका छन्।‘काठमाडौँ उपत्यका रात्रिकालीन बस सेवा विस्तार’ कार्यक्रममा बोल्दै उनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्यून आय भएका वर्गलाई लक्षित गरी यस्तो सेवा निःशुल्क गर्नुपर्ने धारणा राखेका हुन्।
महर्जनका अनुसार रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च उपत्यकाभित्रका १८ वटै स्थानीय तहले सहकार्यमा व्यहोर्नुपर्छ। त्यसमा काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठूलो हिस्सा व्यहोर्न तयार रहेको उनको भनाइ छ।
उनले हाल सञ्चालनमा रहेको रात्रिकालीन बस सेवाको ब्रेक–इभेन अवस्थालाई यथावत् राख्दै निश्चित ‘कटअफ डेट’ तोक्नुपर्ने सुझाव दिएका छन्। आगामी वैशाख १ गते वा उपयुक्त अन्य मितिदेखि सेवा निःशुल्क घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ ।
यस्तो व्यवस्था लागू गर्न सके सार्वजनिक यातायात क्षेत्रमा उल्लेखनीय सुधार आउने विश्वास महर्जनले व्यक्त गरेका छन्। साथै, मेट्रो रेल सञ्चालन हुन अझै समय लाग्ने भएकाले त्यस अवधिसम्म वैकल्पिक सार्वजनिक यातायातका रूपमा रात्रिकालीन बस सेवाको व्यवस्थापन र विस्तारमा जोड दिनुपर्ने उनले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्