काठमाडौँ। काठमाडौं महानगरपालिकाले घरबाहिर फोहोर ननिकाल्न आग्रह गरेको छ। निरन्तर वर्षाका कारण फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको जनाउँदै नगरवासीलाई तत्कालका लागि फोहोर घरबाहिर ननिकाल्न आग्रह गरेको हो ।
महानगरको वातावरण व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै फोहोर सङ्कलन तथा ढुवानी सेवा केही समयका लागि प्रभावित भएको जानकारी दिएको हो । पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको समस्या देखिएको छ। यसको प्रत्यक्ष असर काठमाडौंको फोहोर विसर्जन गरिने ल्यान्डफिल साइटमा पनि परेको महानगरले जनाएको छ।
महानगरका अनुसार ल्यान्डफिल साइट क्षेत्रमा पहिरो जाँदा माथिल्लो भागबाट लेदोसहितको माटो खस्ने क्रम जारी छ। यसले गर्दा फोहोर बोकेका सवारीसाधनलाई साइटसम्म पुग्न तथा फोहोर विसर्जन गर्न कठिनाइ भइरहेको छ।
यस्तै प्राविधिक र प्राकृतिक अवरोधका कारण नियमित फोहोर सङ्कलन तथा ढुवानी प्रक्रिया अनिश्चित समयका लागि प्रभावित भएको महानगरले स्पष्ट पारेको छ।
महानगरले सूचना मार्फत नगरवासीलाई घर, पसल वा व्यवसायबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, खुला स्थान तथा खोलानालामा नफाल्न कडा आग्रह गरेको छ। साथै, सेवा नियमित नहुन्जेलसम्म फोहोरलाई आफ्नै घर वा परिसरभित्र सुरक्षित रूपमा भण्डारण गरेर राख्न सुझाव दिएको छ।
फोहोरलाई लामो समयसम्म सुरक्षित राख्न सड्ने (जैविक) र नसड्ने फोहोर छुट्टाछुट्टै राख्न पनि महानगरले आग्रह गरेको छ।
सार्वजनिक स्थानमा जथाभावी फोहोर फ्याँक्दा ढल तथा नाला बन्द भई वर्षायाममा बाढी र डुबानको जोखिम अझ बढ्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्