काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेर जात्रा अवलोकन गरेका छन्।
राष्ट्रपति पौडेल न्यूरोडस्थित जुद्ध सालिकबाट पैदल वसन्तपुर दरबारस्थित गद्दी बैठक पुगेका हुन् ।
२०८० देखि राष्ट्रपति पौडेल इन्द्रजात्रा अवलोकनका क्रममा जुद्ध सालिकबाट पैदल गद्दी बैठक जान थालेका हुन् ।
उनीसँगै विशिष्ट व्यक्तित्वहरू पैदल गद्दी बैठक पुगेका हुन् । जात्रा अवलोकनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यबाहक प्रधानमन्त्री स्वर्णिम वाग्ले, प्रधानन्यायधीश मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद आर्याल राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, सांसदहरू, प्रदेशसभा सदस्यहरू, काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी थिए ।
जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा फूलमाला एवं दक्षिणा चढाएर यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा सुरु गरिएको थियो ।
भाद्र शुक्ल द्वादशीका दिन बिहीबार बिहान हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो ।


प्रतिक्रिया दिनुहोस्