गीत गाएर ६१ बर्ष विताए, अहिलेसम्म पैसा लिएको छैन् : मीरा राणा
काठमाडौं । बरिष्ठ गायिका मीरा राणाले आफूले गीत गाएर ६१ बर्ष पूरा गरेको र गीत गाएर पैसा नलिएको दाबी गरेकी छन् ।
शनिबार सरु संगीत घर, टीकाथलीले हरेक बर्ष प्रदान गर्दै आइरहेको सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ ग्रहणपछि सम्बोधन गर्दै उनले आफूले ७५ बर्ष उमेर टेकेको र ६१ बर्ष संगीतमा विताएको स्मरण गरिन् । उनले गीत गाएर एक पटक मात्र पैसा लिएको जानकारी दिइन ।
‘मैंले गीत गाएर पैसा लिएको छैन । एक पटक शम्भुजित बाँस्कोटाले एकेडेमीमा गीत गाउँदा तीन हजार मोल दिनुभएको थियो । तर म आफूपनि क्यान्सर पीडित पनि भएकाले मीरा राणा क्यान्सर समाज स्थापना गरेको छु । र प्राप्त गरेको पैसा त्यही समाजमा राख्ने गरेको छु ,’ उनले भनिन् ।
समारोहमा राणाले आमाको महत्वबारे प्रष्ट पार्दै क्यान्सर रोग न्यूनीकरणमा काम गर्नुपर्ने र क्यान्सर पीडितहरुलाई सहयोग गर्नुपर्ने धारणा राखिन ।
‘म पनि क्यान्सर पीडित हुँ, बेलायत गएर उपचार गरें । २०२१ मा शल्यक्रिया भयो । त्यसपछि स्वस्थ्य छु । क्यान्सर भन्ने बित्तिकै आत्मा नै मरेजस्तो हुन्छ, तर त्यस्तो होइन रहेछ, आत्मबल बलियो बनाउनुपर्ने रहेछ,’ उनले भनिन् ।
नेपाली आधुनिक गीतसंगीतका क्षेत्रमा विगत ६ दशकदेखि पु¥याउँदै आएको योगदानको कदरस्वरूप राणालाई पुरस्कार प्रदान गरिएको हो । शनिबार टीकाथलीमा आयोजित विशेष समारोहमा बरिष्ठ संगीतकार सीके रसाइलीले राणालाई दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरे ।
संगीतकार कोमल निरौलाको संयोजकत्वमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा.रत्नमणि नेपाल र सदस्यसचिव डेनी निरौलासहितको छनोट समितिले राणाको नाम सर्वसम्मत रूपमा पुरस्कारका लागि चयन गरेको हो ।
सरु संगीत राष्ट्रिय पुरस्कार प्राप्त गर्ने राणा दोस्रो स्रष्टा हुन्। यसअघि २०८२ सालमा पहिलोपटक प्रसिद्ध लोकगायिका कविता आलेलाई उक्त पुरस्कार प्रदान गरिएको थियो।
पुरस्कारको राशि २५ हजार ५०५ रुपैयाँ छ। समारोहमा सरु संगीत घरका संस्थापक डेनी निरौलालले आफ्नी आमाको नाममा पुरस्कार कोष स्थापना गरी आमाको स्मरण र सम्मान गरिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्