Skip to content

राप्ती हाइड्रोलाई माग गरिएको भन्दा झन्डै ४६ प्रतिशत कम हकप्रद शेयर निष्काशन गर्न अनुमति

nmb bank inside

राप्ती हाइड्रोलाई माग गरिएको भन्दा झन्डै ४६ प्रतिशत कम हकप्रद शेयर निष्काशन गर्न अनुमति

काठमाडौं । विद्युत् नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई कम्पनीले माग गरेकोभन्दा झन्डै ४६ प्रतिशत कम अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीले १ः०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशनका लागि अनुमति मागेकोमा आयोगले १ः०.२५१४ अनुपातमा मात्र स्वीकृति दिएको हो । यससँगै कम्पनीले माग गरेको हकप्रद निष्काशन अनुपातमा ०.२१४७ बिन्दुले कमी भएको छ ।

स्वीकृत अनुपातअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । यसबाट कम्पनीले ३० करोड ८१ लाख २६ हजार २०० रुपैयाँ पूँजी जुटाउनेछ ।

कम्पनीको प्रस्तावित अनुपातअनुसार हकप्रद निष्काशन भएको भए करिब ५७ लाख १३ हजार कित्ता शेयर निष्काशन हुने थियो । त्यसको तुलनामा आयोगबाट स्वीकृत शेयर संख्या करिब २६ लाख ३२ हजार कित्ता कम हो ।

गत पुस २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले १ः०.४६६१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा कम्पनीले अनुमति मागेकोमा आयोगले असोज ८ गते संशोधित अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति दिएको हो ।

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी वृद्धि हुनेछ । यद्यपि, हकप्रदबाट उठाइएको रकम कुन परियोजना वा प्रयोजनमा प्रयोग गरिने भन्ने विवरणका आधारमा यसको वित्तीय प्रभाव थप स्पष्ट हुनेछ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्