Skip to content

पर्यटकीय सिजन भएकाले दशैँ मनाउने फुर्सद नै हुँदैन : राम प्रसाद सापकोटा

nmb bank inside

पर्यटकीय सिजन भएकाले दशैँ मनाउने फुर्सद नै हुँदैन : राम प्रसाद सापकोटा

दशैंमा नयाँ लुगा लगाउने, मासु खाने र पिङ खेलेर रमाइलो गर्दथ्यौं : सापकोटा

काठमाडौं । हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ । तर पर्यटन व्यवसायमा आबद्ध व्यक्तिका लागि भने दशैँ–तिहारको समय व्यस्त पर्यटकीय सिजन पनि हो ।

मौसम अनुकूल हुने यही समयमा पर्यटकलाई सेवा दिनुपर्ने भएकाले पर्यटन व्यवसायीले अन्य पेसामा आबद्ध व्यक्तिले जस्तो फुर्सदमा चाडपर्व मनाउन पाउँदैनन् । नेपाल पर्यटन बोर्डका कार्यकारी समितिका पूर्वउपाध्यक्ष तथा पर्यटन व्यवसायी रामप्रसाद सापकोटा ‘कमल’ पर्यटन व्यवसायमा आबद्ध व्यक्तिका लागि दशैँको अनुभव फरक हुने बताउँछन् ।

होटल, ट्रेकिङ र ट्राभल कम्पनी सञ्चालन गर्ने व्यवसायीले पर्यटकको व्यवस्थापन र सेवामा खटिनुपर्ने भएकाले चाडपर्वमा पनि कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । ‘पर्यटकीय सिजन भएकाले हामीले दशैँमा पनि काम गर्नुपर्छ । मौसम राम्रो हुने समयमा पर्यटक अपरेसनमा लाग्नुपर्ने हुन्छ । अरू पेसामा आबद्ध व्यक्तिले जस्तो फुर्सद लिएर दशैँ मनाउन हामीले पाउँदैनौँ,’ सापकोटाले भने ।

उनका अनुसार होटलका कर्मचारीसँग दशैँ मनाउने कार्यक्रम पहिल्यै आयोजना गरे पनि मुख्य चाडका दिन व्यवसाय सञ्चालनमै ध्यान दिनुपर्ने हुन्छ । पर्यटकलाई सेवा दिनुपर्ने भएकाले आफूले पनि दशैँमा उपत्यका छाडेर बाहिर जान नसक्ने उनले बताए । पर्यटकलाई भेट्नुपर्ने समय मिलाएर टीका लगाउने, आफन्त भेट्ने र केही समय रमाइलो गर्ने भएपनि चाडपर्वमा लामो बिदा लिन कठिन हुने उनको अनुभव छ ।

पर्यटन व्यवसायीले परिवारसँग समय बिताउन र घुमफिर गर्न पर्यटकको चाप कम हुने अफसिजन रोज्ने गरेका छन् । सापकोटाका अनुसार जनवरी, फेब्रुअरी, जुन, जुलाई र अगस्टजस्ता महिनामा पर्यटकको गतिविधि तुलनात्मक रूपमा कम हुने भएकाले त्यतिबेला परिवारलाई समय दिने र देशभित्र वा विदेशमा घुम्न जाने योजना बनाइन्छ ।

बाल्यकालको दशैँ र अहिलेको दशैँ

सापकोटाको अनुभवमा दशैँ मनाउने शैलीमा व्यक्तिगत जीवन र देशको आर्थिक अवस्थासँगै परिवर्तन आएको छ । सामान्य आर्थिक अवस्था भएको परिवारमा हुर्किएका उनका लागि बाल्यकालमा दशैँ भनेको नयाँ लुगा लगाउने, मासु खाने र पिङ खेलेर रमाइलो गर्ने विशेष अवसर थियो ।

‘सानो हुँदा दशैँमा मासु खाने र नयाँ कपडा लगाउने कुराले धेरै खुसी दिन्थ्यो । बुबाले दशैँमा नयाँ कपडा किनिदिनुहुन्छ भनेर पर्खिन्थ्यौँ,’ उनले सम्झिए । तर अहिले व्यवसाय सञ्चालन गर्ने अवस्थामा पुगेपछि दशैँका लागि छुट्टै लुगा किन्ने वा मासु खाने विषय प्राथमिकतामा नरहेको उनले बताए । आवश्यकताअनुसार वर्षभरि नै लुगा किन्ने र खानपिन गर्ने अवसर बढेकाले बाल्यकालको दशैँ र अहिलेको दशैँको अनुभव फरक भएको उनको भनाइ छ ।

उनका अनुसार यो परिवर्तन व्यक्तिगत जीवनमा आएको जिम्मेवारीसँगै देशको विकास र जीवनस्तरमा आएको परिवर्तनसँग पनि जोडिएको छ । बाल्यकालमा आफ्नै इच्छाअनुसार रमाइलो गर्न पाइने भए पनि अहिले परिवार, व्यवसाय र संस्थागत जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले समय व्यवस्थापन गर्नुपर्छ ।

चाडपर्व पनि पर्यटनको उत्पादन

सापकोटाले नेपाली चाडपर्वलाई पर्यटक आकर्षित गर्ने सम्भावनायुक्त पर्यटन उत्पादनका रूपमा विकास गर्नुपर्ने बताएका छन् । उनका अनुसार नेपाल आउने पर्यटक हिमाल, प्राकृतिक दृश्य र ऐतिहासिक सम्पदा हेर्न मात्र नभई नेपाली समाज, संस्कृति, धर्म र परम्पराको अनुभव लिन पनि रुचाउँछन् ।

‘पर्यटक आफैँ एउटा अवसर हो । हामीले नेपाली चाडपर्वलाई पनि पर्यटनको उत्पादनका रूपमा लिनुपर्छ,’ उनले भने, ‘दशैँमा टीका लगाउने, पूजा–आजा गर्ने र हामीले चाडपर्व कसरी मनाउँछौँ भन्ने कुरा पर्यटकलाई देखाउन र बुझाउन सकिन्छ ।’

उनका अनुसार नेपालका विभिन्न जातजाति, भाषा, संस्कृति, मठमन्दिर, हिमाल र चाडपर्व पर्यटकका लागि आकर्षण हुन् । पर्यटकले कुनै ठाउँ हेरेर मात्र नभई त्यहाँको जीवनशैली र संस्कृतिको अनुभव लिएर फर्कन चाहने भएकाले यस्ता गतिविधिले उनीहरूको भ्रमणलाई थप अर्थपूर्ण बनाउन सक्छन् ।

त्यसैले पर्यटन व्यवसायीले चाडपर्वको समयमा पर्यटकलाई नेपाली संस्कृतिसँग परिचित गराउने कार्यक्रम र गतिविधि विकास गर्नुपर्ने उनको सुझाव छ । यसले पर्यटकलाई नयाँ अनुभव दिनुका साथै नेपालको सांस्कृतिक पहिचान अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

सापकोटाले विजयादशमीको अवसरमा सबै नेपालीलाई सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिँदै चाडपर्वलाई नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनसँग जोड्न सकिने सम्भावनामा ध्यान दिन आग्रह गरेका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्