काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । सोमबार डोटीको सिलगढीमा नेकपा (एकीकृत समाजवादी)को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बैकल्पिक राजमार्ग मात्रै बनाउन सके समग्र सुदूरपश्चिमको विकासमा ठूलो परिवर्तन आउने जनाएका छन् । उनले भने, ‘धनगढी, खुटिया, दिपायल, बझाङहुँदै उरै भञ्ज्याङ जोड्ने वैकल्पिक राजमार्ग मात्रै बनाउन सके हाम्रो प्रदेशको विकासले ठूलो फड्को मार्नेछ । यो नेपाल, भारत र चीन जोड्ने मार्ग भएकाले पनि यसको निर्माणमा प्राथमिकता दिन अति जरुरी छ ।’ डोटीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद आलेले त्यहाँका अन्य राजमार्गको तुलनामा उक्त राजमार्ग सबैभन्दा छोटो दूरीको रहेकाले आफूले सो राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर यसका लागि सङ्घ तथा प्रदेश सरकारसँग आवश्यक पहल गर्ने आश्वासन दिएका छन् ।
उनले उक्त बैकल्पिक राजमार्गका विभिन्न ठाउँमा पुल निर्माणको काम अगाडि बढाएको जानकारी दिँदै भने, ‘डोटीको विकासका लागि म सधैँ अग्रसर छु । मेरो कार्यकालसम्म म जिल्लाको मुहार फेर्ने गरी विकासका कामलाई अघि बढाउनेछु ।’ सो क्षेत्रका नागरिकलाई चीनको ताक्लाकोट जान र चिनियाँ तथा भारतीय पर्यटक भित्र्याउन उक्त मार्गबट सहज हुने भएकाले त्यहाँको खप्तडलगायत सुदूरपश्चिमका प्रमुख पर्यटकीयस्थलको विकासमा समेत टेवा पुग्ने उनको भनाइ छ ।
पूर्वमन्त्री आलेले विकासका काममा राजनीति गर्न नहुने भन्दै सबै मिलेर आफ्नो जिल्ला र समग्र सुदूरपश्चिम क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । कुन क्षेत्रमा के कस्ता समस्या र आवश्यकता छन् भन्ने बारेमा आफूलाई जानकारी गराउन पनि उनले जिल्लावासीलाई आह्वान गरेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्