Skip to content
nabil bank inside

एमालेद्वारा मध्यपहाडी क्षेत्रका ७ सय ५१ योजना र माग सरकारसमक्ष प्रस्तुत

nmb bank inside
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’समक्ष ध्यानाकर्षणपत्र बुझाएका छन् । उनले मध्यपहाडी क्षेत्रका विकासका सम्भावना र चुनौतीसहित ७ सय ५१ योजना तथा कार्यक्रम समेटिएको ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
गत मङ्सिर १४ देखि पुस १ गतेसम्म सुदूरपश्चिमको झुलाघाटदेखि सुदूर पूर्वको चिवाभञ्ज्याङसम्म एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा जनताबाट प्राप्त माग, ज्ञापन र सुझाव एवं देखिएका समस्यालाई लिपिबद्ध गरी सो पार्टीले सरकारलाई हस्तान्तरण गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको अद्यावधिक स्थिति र कतिपय स्थानमा पुन:रेखाङ्कन तथा सुधार गर्नुपर्ने विषयमासमेत एमालेले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ । उक्त क्रममा मध्यपहाडी क्षेत्रले सबैभन्दा बढी १ सय ५७ वटा माग सडकसँग सम्बन्धित र २५ वटा मोटरेबल पुल प्राथमिकतामा राखेको देखिएको छ ।
सो सुझावमा सडक, शिक्षा, पर्यटन, कृषि तथा फलफूल, स्वास्थ्य, उद्योग, ऊर्जा, मोटरेबल पुल, सिँचाई, भवन निर्माण, संस्कृति संरक्षण तथा प्रवद्र्धन, भूमि व्यवस्था, बस्ती विकास, खेलकुद, जातीय विभेद, छुवाछूत तथा हिंसाविरुद्ध, खानेपानी व्यवस्थापन तथा स्रोत संरक्षण, भूकम्पप्रभावित क्षेत्रलगायत ठाउँमा पुन:निर्माण तथा पुन:स्थापना, सुरुङ मार्ग निर्माण, भूक्षय नियन्त्रण तथा तटबन्ध निर्माणलगायत विषयमा मुख्य माग रहेका छन् । पहाडी गाउँबस्तीमा बसाइँसराइ ठूलो चुनौतीका रुपमा देखापरेको, कतिपय बस्तीहरु रित्तिँदै गएको, विद्यार्थीको अभावमा कतिपय विद्यालय बन्द हुने अवस्थामा पुगेको, खेतीयोग्य जमिन बाँझो बन्दै गरेको र कतिपय ठाउँमा त वृद्ध-वृद्धाको हेरचाह गर्ने वा मलामी जाने युवाकोसमेत अभाव देखिएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
यस्तै, उत्पादित वस्तुले बजार, उचित मूल्य र संरक्षण नपाउनु पनि बसाइँसराइका कारण बन्न पुगेको उल्लेख गर्दै पार्टीले किसानको हित संरक्षणका लागि विदेशी मुलुकका कृषि उत्पादनको अनियन्त्रित आयात रोक्न, बिचौलियाको दोहन नियन्त्रण गर्न, पुँजी र प्रविधिको प्रबन्ध, बाली बीमा, उत्पादनको समर्थन मूल्य र बजारको व्यवस्था गर्न ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । गत कात्तिक १७ गते जाजरकोट र रुकुम-पश्चिममा गएको भूकम्पपछिको पुनःनिर्माण र पुन:स्थापनाको काम अत्यन्त सुस्त र निराशाजनक रहेको उल्लेख गर्दै अस्थायी आवास र न्यानो कपडाको अभावमा चिसोले ३४ जनाभन्दा बढी भूकम्प पीडितको ज्यान जानु लज्जास्पद स्थितिका रुपमा एमालेले विश्लेषण गरेको छ ।
सो पार्टीले अविलम्ब अस्थायी आवासका लागि राहत उपलब्ध गराएर र पीडितका लागि अस्थायी आवास सुनिश्चित गरेर नागरिकको जीवन रक्षा गर्न सरकारसँग माग गरिएको छ ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्