काठमाडौँ । छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भीर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स-साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती । बाहिरबाट त्यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ ।
अझ त्यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई एकै छिन ठक्क रोक्ने गर्छ । गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन् । केही समथर त केही भिरलो भू-भागले भरिएको निसी गाउँमा केही धान फल्ने खेत त केही मकै फल्ने बारी छन् । कृषि र पशुपालनमा आश्रित त्यहाँका स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा पनि लाग्न थालेका छन् । बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँ निसीखोला गाउँपालिका-५ मा पर्छ । एक दशक अगाडिसम्म सेवासुविधाको हिसाबले निकै दुर्गम मानिने यो गाउँ अहिले सुगम बनेको छ । मगर खाम भाषा बोल्ने यहाँका स्थानीयको आफ्नै परम्परा छ ।
त्यस्तै, वर्षौंदेखि दुर्गमको पीडा भोगेको निसी क्षेत्रको अहिले भने मुहार फेरिएको छ । विसं २०६४ मा निसी गाउँ मध्यपहाडी लोकमार्गले जोडिए पनि २०६६ सालदेखि गाडी गुड्न थालेका थिए । त्यसभन्दा अगाडि निसीमा कुनै पनि सुविधा थिएन । सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो । बुर्तिबाङ आइपुग्न पनि एक दिन पूरै लाग्ने गर्थो । अहिले बुर्तिबाङ आउन गाडीमा ४५ मिनेट लाग्छ । सडक यातायातको पहुँचसँगै यहाँको मुहार फेरिन थालेको हो । २०७७ सालमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ । पहिले साना झुपडी रहेका ठाउँमा अहिले ठूला-ठूला पक्की घर भवनहरू बन्न थालेका छन्भने मौलिक घरहरू विस्थापित हुँदैछन् ।
गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ । दैनिक उपभोग्य सामान ल्याउनका लागि कैयौँ दिन लगाएर बुटवल पुगेकालाई अहिले घरै छेउका पसलमा पाउन थालेपछि दङ्ग छन् । स्थानीय ९० वर्षीया पूरा सुनारले २२ दिन लगाएर बुटवल, देउखुरी र तानसेनबाट नुन, चामल लिएर उपभोग गरेको स्मरण गर्दै अहिले गाउँमै यति धेरै सुविधा आउँछ भनेर कल्पनासमेत नगरेको बताउँछन् । पहिलो पटक तानसेनमा गाडी देखेको सुनाउने सुनारले अचल दैनिक घरै गाडी दर्जनौँ गाडी खुड्दा खुसी लागेको जनाएका छन् ।
यस्तै, ‘अहिले घरहरुले निसी भरिन थाल्यो, पहिले घर थोरै थिए, बिरामी हुँदा अस्पताल थिएन, ओखतीमुलो गर्नका लागि धामी झाँक्रीबाहेक केही थिएन, धामीझाँक्रीले बचाए बचाउँथ्यो नत्र मर्ने हो । अहिले त घर नजिकै बिरामी भएपछि उपचार पाइन्छ । उतिबेला जुत्ताचप्पल हुँदैनथ्यो, खाली खुट्टा हिँड्थ्यौँ, पीठो बेलुकी पाँच मुठी खान्थ्यो, बिहान पाँच मुठी खान्थ्यौँ’, सुनारले सुनाए । उनले भने, ‘यहाँ गाडी आउला भन्ने, यस्तो परिवर्तन आउला भन्ने लागेको थिएन, २० वर्षको उमेरमा पहिलो पटक गाडी देखेको थिएँ, हाम्रो पालामा गाउँमै यति ठूलो परिवर्तन होला, सुविस्ता (सुविधा) होला भन्ने सोचेको थिएन ।’ शिक्षा, स्वास्थ्य र अन्य विकासका हिसाबले पनि अहिले निसी गाउँ जोडिरहेको छ । गाउँमै माध्यमिक तहको पढाइ हुन्छ । चार वर्षदेखि त्यहाँस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पशु विज्ञानको पनि पढाइ हुन थालेको छ ।
स्वास्थ्यका लागि गाउँपालिकाले गाउँमै सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ भने जटिल किसिमको उपचारका लागि बुर्तिबाङ आउनुपर्ने अवस्था छ । सडकको सहज पहुँच हुँदा बुर्तिबाङ आउनका लागि समस्या छैन । शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारले निकै पछाडि रहेको यो गाउँ लोकमार्गले जोडिएपछि थुप्रै सम्भावनाका ढोकाहरू खुलेका छन् । लोकमार्गका छेउछाउँमा अहिले थुप्रै घर भवन धमाधम निर्माण हुँदैछन् भने गाउँको स्वरुप बजारमा परिणत हुँदैछ । पहिले अन्धकारमय रहेको गाउँमा अहिले स्थानीय लघु जलविद्युत्मार्फत उज्यालो बनेको छ । कतिपय घरघरमा धारा बनेका छन् पनि कतिपय ठाउँमा बन्ने चरणमा छन् । पहिले दुर्गम हुँदा सरकारी निकायका कर्मचारी त्यहाँ आउन मान्दैनथे तर अहिले जिल्ला सदरमुकामसँग सिधा यातायात सञ्चालन हुने हुँदा धेरैको रोजाइमा निसी पर्न थालेको छ ।
यसैगरी, सयौँको सङ्ख्यामा भेडाबाख्रा तथा अन्य वस्तुभाउ पालेरै जीविकोपार्जन गर्दै आएकामा अहिले धेरैले व्यापार-व्यवसाय गर्न थालेको स्थानीय कर्णसिंह घर्ती मगरले बताएका छन् । समयसँगै गाउँको रुप, समाज र स्थानीयको व्यवहारमा ठूलो परिर्वतन आएको उनको भनाइ छ । घर्ती मगरले पछिल्लो समय बजार झर्ने र विदेश पलायन हुनेको सङ्ख्या पनि बढ्न थालेको बताउँछन् । ‘हाम्रो पालामा मोटरगाडी देख्न बटौली पुग्नु पथ्र्यो, बाउबाजे विदेश गएनन्, गाउँमै भेडाबाख्रा पाल्ने, खेतबारीमा काम गर्ने गर्थे, हामीहरू पनि लेकबेँसी गरेर उनीहरूले गरेकै काम गर्यौं । तर, अहिलेका युवा हामीहरूले गरेको काम गर्न मान्दैनन्, यो गाउँमा पहिला खरका घरहरू थिए, पछि ढुङ्गा माटोले बनाउन थाले, अहिले त कङ्क्रिटका घर बनेका छन्’, घर्ती मगरले भने, ‘पहिले सहर बजार हेर्न टाढा पुग्नु पथ्र्यो, अहिले हाम्रै गाउँ बजार बन्न थाल्यो, उति बेला तानसेन, खसौलीमा पाइने नुन तेल अहिले यही पाइन्छ, सुविधाको हिसाबले धेरै आयो ।’
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि करिब १ सय २० किलोमिटर पश्चिममा रहेको निसी गाउँबाट प्रशासनिक कामका लागि हप्ता दिन लगाएर प्रशासनमा आउनुपर्ने बाध्यता थियो । इलाका प्रशासन, नापी र मालपोत कार्यालय बुर्तिबाङमा स्थापना भएपछि निसीबाट प्रशासनिक कामका लागि बागलुङ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । स्थानीय ६२ वर्षीय भुलबहादुर विकले आफूहरू सरकारी कागजात बनाउन पाँच दिन लगाएर जिल्ला सदरमुकाम पुगेको अनुभव सुनाउँछन् । त्यसबेला सामान्य सरकारी कामले सदरमुकाम आउँदाजाँदा हजारौँ रुपैयाँ खर्च हुने गरेको भन्दै अहिले बिहान उठेर हिँडियो भने चार घण्टामै बागलुङबजार पुग्न सकिने उनी बताउँछन् ।
सडकले गर्दा बजारको सेवा गाउँमा आएको र गाउँलेको जनजीवनमा ठूलो परिवर्तन आएको विकको भनाइ छ । चार वर्षअगाडि सडक कालोपत्र नहुँदा केही समस्या भए पनि अहिले धेरै सहज भएको उनले बताए । लोकमार्गले जोडिएपछि लोकमार्ग आसपासको जग्गाको मूल्यसमेत निकै महँगो हुँदै गएको विकले जनाएका छन् । उनले एक दशकअगाडि ५ लाखमा पाइने जग्गा अहिले रु २० लाखमा पनि पाउन मुस्किल हुने गरेको बताउँछन् ।
सडक छेउछाउका खाली ठाउँमा धमाधम घरहरू बनिरहेको भन्दै निसी गाउँका व्यापारिक केन्द्रका रुपमा विकास हुन थालेको उनले बताएका छन् । यस क्षेत्रमा सिमी, भांगो र भेडाबाख्रा बढी मात्रामा उत्पादन हुने हुँदा बजारीकरणका लागिसमेत सडको ठूलो टेवा पुर्याएको उनी बताउँछन् । पछिल्लो समय स्थानीय उत्पादनले बजार पाउँदै गएको विकको भनाइ छ । उनले भने, ‘पहिले खेतीपाती नहुने खाली ठाउँ अहिले ठूला-ठूला घडेरीका रुपमा लाखौँमा बिक्री हुन थालेका छन्, खाली ठाउँमा घर बनाउन थालेका छन्, अहिले बिस्तारै बजारका रुपमा विकास हुँदैछ, अबको पाँच-१० वर्षमा यो ठाउँ निकै विकसित हुने देखिन्छ, अहिले त जग्गाको भाउ पनि निकै अकासिएको छ, सडकको छेउछाउमा त अहिले जग्गा किन्नै सकिन्न, त्यसबेला हजारमा पाइने जग्गा अहिले लाखौँ रुपैयाँ पर्छ, पहिले बागलुङ पुग्न एक सातासम्म लाग्थ्यो, अहिले बिहान सबेरै हिँडियो भने खाना खान पुगिन्छ । दिउँसो काम सकाएर फेरि साँझ घरमै आउन सकिने भएको छ, राज्यले चाह्यो भने विकास हुन धेरै समय लाग्ने रहेनछ ।’
लोकमार्गले बागलुङलाई मालढुङ्गादेखि पातिहाल्नेसम्म जोडेको छ । पूर्वमा पर्वत र पश्चिममा पूर्वी रुकुमसँग जोडेको लोकमार्ग बागलुङ खण्डमा १ सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये सबैभन्दा बढी खण्ड निसीखोला गाउँपालिकामै पर्ने गरेको छ । निसीसँगै लोकमार्गले अन्य गाउँलाई पनि बजारका रुपमा परिणत गर्दै छ । विगतमा भौगोलिक विकटता र विकासका हिसाबले निकै पछाडि परेको निसी लोकमार्गका कारण मुहार फेरेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिएका छन् ।
पहिले जिल्लामै हेपिएको ठाउँका रुपमा रहे पनि अहिले यस ठाउँमा विकासले फड्को मारेको उनको भनाइ छ । लोकमार्ग त्यहाँका हजारौँ नागरिकका लागि वरदान साबित भएको अध्यक्ष घर्ती मगर बताउँछन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्