Skip to content
nabil bank inside

सांसदद्धारा सहकारी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

nmb bank inside

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारी पीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले विकृतिको नियन्त्रण, सहकारी पीडितको समस्या समाधान गर्न ध्यानाकर्षण गराएका हुन् ।

सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । त्यस्तै, सांसद बिजुला रायमाझीले जनताका मागका सन्दर्भमा उठाइएका विषयलाई सम्बोधन गर्न माग गरेका छन् । त्यसैगरी सांसद बिना लामाले मिटरब्याजपीडितको समस्या समाधान हुन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएकी छिन् । उनले दुग्ध किसानको माग सम्बोधन गरी उनीहरुले बिक्री गरेको दूधको पैसा भुक्तानी गर्नुपर्ने बताएकी छिन् ।

सांसद विनिताकुमारी सिंहले मधेस प्रदेशमा साक्षरता दरमा सबैभन्दा पछाडि परेको, अनुगमनमा ध्यान नदिइएको, शिक्षामा लगानी कम भएकाले अपेक्षित प्रगति हुन नसकेको धारणा राखेकी छिन् । सांसद विराजभक्त श्रेष्ठले श्रमजीवी पत्रकारले तोकिएको पारिश्रमिक पाउन नसकेको विषय सञ्चारमाध्यमदेखि सडकसम्म पुगेको उल्लेख गर्दै पत्रकार विषम परिस्थितिमा पुगेको बताएका छन् । यसैगरी  सांसद श्यामकुमार घिमिरेले कमला नदीका कारण सिन्धुलीलगायतका जिल्ला नराम्ररी प्रभावित भए पनि नदी नियन्त्रणका लागि यथेष्ट बजेट विनियोजन हुन नसक्दा काम हुन नसकेको जनाएका छन् ।

यस्तै, सांसद सन्तोष परियारले सामुदायिक शिक्षाको विकास र विस्तारका लागि महत्वपूर्ण मानिएको भक्तपुरको ख्वप कलेजलाई विश्वविद्यालय बनाउने विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद हितराज पाण्डेले संसद् बैठकको प्रत्यक्ष प्रसारण हुने भएकाले जनताले सांसदको भूमिका, जिम्मेवारी स्पष्टसँग देखेको उल्लेख गर्दै उत्तरी गोरखाको विकास निर्माणबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले पूर्वी नेपालमा किसानलाई बाँदरले ठूलो दु:ख दिएकाले समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरु शान्ति विक, शिव नेपाली, शिशिर खनाल, शोभा ज्ञवाली, सन्तोष चालिसे, सराज अहमद फारुकी, सरिता भुसाल, स्वर्णीम वाग्ले, शान्ति चौधरी, सीताकुमारी राना, सीता मिजार, सुनिता बराल, सुमना श्रेष्ठ, सुशीला श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, सूर्यमान दोङ, हितबहादुर तामाङ, हेमराज राई, हृदयराम थानी, ज्ञानु बस्नेत सुवेदीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्