काठमाडौँ । निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिका अभियानमा मन्त्रालयका कर्मचारी, सुरक्षा निकाय तथा आम नागरिकबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका छन् । गृह मन्त्रालयमा बुधबार आयोजित बिदाइ समारोहमा उनले यस्तो आभार प्रकट गरेका हुन् ।
उनले भने, ‘सरकारले सुरु गरेको सुशासनको अभियानलाई भरपूर सहयोग गर्नुभयो, अब पनि यसलाई निरन्तरता दिनुहोस् ।’ निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता तथा सार्वभौमिकताको रक्षार्थ थालनी गरिएको कामलाई निरन्तरता दिन पनि आग्रह गरेका छन् । आफू झण्डै एक वर्ष गृह मन्त्रालयको नेतृत्वमा रहँदा सुशासन र सामाजिक न्यायको प्रत्याभूति दिन क्रियाशील रहेको उल्लेख गर्दै उनले जनतामा आशा जगाउने गरी सुधार गरिएको जिकिर गरेका छन् ।
‘सरकारले सुशासनमा फड्को मारेको छ, जनतालाई आशा देखाउन सकिएको छ’, उनले भने । आफूले गृह मन्त्रालयको नेतृत्व सम्हालेकै दिन सुराकी खर्चसम्बन्धी व्यवस्था तथा राष्ट्रिय परिचयपत्रमा भएको जैविक विवरण निजी क्षेत्रलाई दिने गरी भएका निर्णय पनि खारेज गरिएको उनले स्पष्ट पारेका छन् । त्यस्तै, निवर्तमान गृहमन्त्री श्रेष्ठले अवैधरुपमा व्यक्तिको नाममा सारेका सरकारी जग्गा फिर्ता ल्याउने, अपराध नियन्त्रण, मिटरब्याजपीडितलाई न्याय दिने, सहकारी ठगीको अनुसन्धान गर्नेलगायत काममा सफलता हासिल गरिएको उल्लेख गरेका छन् । ‘सुधारका कामलाई सबैले आत्मसात् गर्नुपर्छ, एउटा मन्त्री गएर अर्को मन्त्री आउँदा यो अभियान रोकिनु हुँदैन’, उनले भने, ‘यी कामलाई फत्ते गर्नुपर्छ ।’
गृहमन्त्रालयमा रहँदा आफूले सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा ल्याउने, जालसाजी गर्ने, ठगी गर्ने तथा राज्य लुट्नेलाई कारबाहीको अभियान चलाएको स्मरण गरेका छन् । साथै, उनले बालुवाटारस्थित ललितानिवासको जग्गा फिर्ताको प्रक्रिया सोही अभियानको सफलताका रुपमा रहेको बताएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्