काठमाडौँ । कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री गर्न थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री गर्न थालेको हो ।
हुम्लामा हालसम्म १ हजार ९ सय २० क्विन्टल, मुगुमा १ हजार १७३.५० क्विन्टल, जुम्लामा १ सय ३०, डोल्पामा ५ सय ३५, कालीकोटमा १ सय ५० क्विन्टल गरी ३९०८.५ क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिएका छन् । आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । हाल सम्म ८४७६.९० क्विन्टल चामल उत्पादन भएको छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उनले बताएका छन् । हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ ।
त्यस्तै, निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिने छ । दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी-१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ ।
दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासुु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । चामलको गुणस्तरसम्बन्धी मापदण्ड अनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलीग्राम, जिङ्क ३२ देखि ५९ मिलीग्राम, भिटामिन ‘ए’ ०.८९ देखि २.२१, फोलिक एसिड ०.२४ देखि ०.५९ र भिटामिन बी-१२ भने ०.००७ देखि ०.०२० मिलीग्राम हुनुपर्ने छ । पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिङ्क स्रोतका लागि जिङ्क अक्साइड, भिटामिन ‘ए’ को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी.१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ ।
यस्तै, निकट भविष्यमा निजी क्षेत्रबाट पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ । नेपाल जनसङ्ख्याकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन् । नेपालमा विभिन्न प्रकारका कुुपोषणको दरमा सुधार आइरहेको भए पनि सुक्ष्म पोषक तत्वको कमीका कारण हुने कुुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ ।
अन्य चामल कहाँ कति पठाइयो
कर्णालीका ३६ वटा डिपोमा प्रदेश कार्यालयबाट स्टिम जिरा चामल १६८२०.२५ क्विन्टल चामल पठाइएको छ । त्यस्तै, अरुवा मोटो चामल ५ सय ९० क्विन्टल, अरुवा सोना चामल १५ क्विन्टल, मोटा चामल ४ सय ३३ क्विन्टल, मकवानपुर चामल ९ सय १२ क्विन्टल, स्टिम जिरा चामल ९४३.५० क्विन्टल कर्णालीका जिल्लामा पठाएको छ । लहान, थापाथली, वीरगञ्ज, विराटनगर, राजापुर, धनगढी, विर्तामोड, महेन्द्रनगरबाट कर्णालीमा खाद्यान्न आउने गर्दछ । यसमध्ये अघिल्लो वर्षको १००१.२५ क्विन्टल चामल मौज्दात थियो । २ सय ५० क्विन्टल गहुँ दैलेख शाखामा पठाएको कम्पनीले जनाएको छ ।
त्यसैगरी १ हजार १ सय लिटर सूर्यमुखी तेल, २ हजार लिटर तोरी तेल, ५ सय लिटर सोयविन तेल कालिकोटमा पठाएको छ । ५।१० क्विन्टल मल्का ताल कालिकोट पठाएको छ । कर्णालीबाट थापाथलीमा ३४.७९ क्विन्टल सिमी, एक क्न्विन्ट चिनो चामल, १० क्विन्टल उवा र २० किलो फापर पठाएको छ । ८ सय ५० लिटर तोरी तेल मुगुमा पठाएको कम्पनीले जनाएको छ । कर्णालीमा खाद्यान्न आयातमात्र होइन, निर्यात पनि गरिन्छ भन्ने सन्देश गएको निमित्त प्रमुख मिश्रले जानकारी दिएका छन् । १ लाख ७३ हजार क्विन्टल चामल कर्णालीमा आवश्यक पर्ने गरेको उनले जानकारी दिँदै २५ हजार क्विन्टल केही दिनमै प्राप्त हुने जनाएका छन् ।
छ वर्षपछि उपल्लो डोल्पामा पुग्यो चामल
कोभिडको महामारीदेखि चामल ढुवानी बन्द भएको उपल्लो डोल्पामा चालु आवदेखि चामल पठाउन सुरु गरिएको छ । शे-फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धो मा खाद्यान्न ढुवानी भएको छ । साल्दाङमा ५ सय क्विन्टल र धो मा १ सय ५ क्विन्टल चामल सुर्खेतबाट उपल्लो डोल्पामा पुर्याएको छ ।
साल्दाङमा प्रतिकेजी रु ९५ र धो मा ९४ मा बिक्री हुने गरेको प्रदेश कार्यालयले जनाएको छ । डोल्पाको जुफाल, सहरतारा र दुबै शाखामा पनि चामल पठाइएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्