Skip to content
nabil bank inside

‘विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ’: राष्ट्रपति

nmb bank inside

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरुलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले विदेशिएका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने धारणा राखेका छन् । यसप्रति आफूले चासो राख्ने गरेको उल्लेख गर्दै उनले आफू कार्यकारी तथा राजनीतिक भूमिकामा नभए पनि सरोकारवालालाई यस विषयमा निरन्तर सम्झाउने गरेको जानकारी पनि दिएको एएनओका महासचिव चुडामणि भट्टराइले जानकारी दिएका छन् ।

अध्ययन होस् वा विभिन्न प्रयोजनले विदेश जाने गरेका नेपालीहरुले आफू रहेको देशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमै आइ त्यसलाई प्रयोगमा ल्याउने वातावरण बनाउन मुलुकका सम्बद्ध सबै क्षेत्र र व्यक्तिहरु लाग्नुपर्नेमा उनले जोड दिएका छन् । उनले नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वमा रहेका नेपाली तथा नेपालीभाषीहरुलाई एकीकृत गर्ने एएनओको अभियानको प्रशंसा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई नेपाली भाषाको तीर्थस्थल बनाउने अभियानमा आफू लागेको जनाएका छन् ।

उनले विश्वका विभिन्न देशमा रहेका नेपालीभाषीहरु एक पटक त्यहाँ पुग्नैपर्ने धारणाको विकास गरी यसलाई जीवन्त राख्न भानु जन्मस्थललाई नेपाली भाषा र साहित्यको तीर्थस्थल बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्