काठमाडौँ । कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन् । दश वर्षअघि कृषि कर्ममा लागेका उनले उदाहरणीय उद्यमीको परिचय बनाएका हुन् ।
स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लाग्नुभएका उनले भोजपुर नगरपालिका-१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक रु १५ देखि १८ लाखसम्म आम्दानी लिने गरेको जनाएका छन् । लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उनी बताउँछन् । उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहेका छन् । व्यवसायका लागि हालसम्म रु एक करोड हाराहारीमा लगानी गरेको बताए । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै उनले सीप पनि सिकाउँदै आएका छन् ।
राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उनको भनाइ छ । पहुँचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उनको बुझाई छ । कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उनको दुखेसो छ ।
आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उनी बताउँछन् । भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उनी बताउँछन् । यसलाई विस्तार गर्ने उनको लक्ष्य छ । हाल उनले एक स्थानमा बङ्गुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेका छन् ।
उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उनले जनाएका छन् । खेती विस्तारका लागि उनले २० रोपनी जग्गा भाडामा लिएका छन् । व्यवसायी श्रेष्ठले छ जनालाई रोजगारी पनि दिएका छन् । ‘कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ । लगनशील भएर कृषिमा लाग्ने हो भने यही मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ’, उनले भने।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्