काठमाडौँ । वीरगञ्ज महानगरपालिका २ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा राखी) बेच्ने गर्थे । श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्थे । समय बितेसँगै अहिका कारण ले उनको परिवारले हातले बुनेर राखी तयार पार्न छाडिसकेको छ ।
बजारमा आउने थरीथरीका रङ्गीचङ्गी राखीसँग हातले बुनेको राखीले प्रतिस्पर्धा गर्न नसकेसँगै बनाउन छोडेको उनी बताउँछन् । ‘पहिला हातले आफैँ राखी बनाएर बेच्ने गर्थौँ’, उनले भने, ‘हाम्रो पुस्तैनी पेसा पनि राखी बनाउने पनि थियो, त्यो बेला विशेष खालको फोममा विभिन्न बुट्टेदार रङसहितको धागोले राखी तयार पार्ने गथ्र्यौं ।’
उनले बजारमा आउने कलात्मक र रङ्गीचङ्गी ‘रेडिमेड’ राखीसँग हातले बुनेर तयार पार्ने राखीले प्रतिस्पर्धा गर्न नसकेर बन्द गर्नुपरेको गुनासो गरेका छन् । अहिले श्रीवास्तव आफैँ नेपाल-भारतको सीमावर्ती बजार रक्सौलबाट किनेर ल्याएका राखी वीरगञ्जको गहवामाई मन्दिर प्राङ्गणमा बिक्री वितरण गर्दै आइरहेका छन् । यस वर्ष रक्षाबन्धन पर्व भोलि अर्थात् भदौ ३ गते परेको छ । यो वर्ष साउन शुक्ल पूर्णिमाका दिनमा मनाउने गरिन्छ । तराई-मधेसमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने नाडीमा कलात्मक ढङ्गले बनाएको राखी लगाइदिने चलन रहेको छ ।
त्यस्तै, ‘अहिले बजारका रङ्गीचङ्गी रक्षाबन्धनले हातले मेहनत गरेर बुनेका रक्षाबन्धनलाई विस्थापित गर्यो, त्यसैले अहिले बजारमा नै पाइने रेडिमेड रक्षाबन्धन ल्याएर बिक्री गर्दै आइरहेका छौँ ।’ उनको अनुभवमा पहिला जस्तो राखी किनमेलमा पनि सर्वसाधारणको रुचि कम हुँदै गइरहेको छ । ‘अहिले अधिकांश मधेसका युवा खाडी मुलुकमा कामको खोजीमा गएका छन्”, उनले भने, ‘दिदीबहिनीले पनि आफ्ना दाजुभाइ यहाँ नभएपछि के का लागि राखी किन्ने हो र ?’
श्रीवास्तव जस्तै वीरगञ्जको माईस्थानमा मौसमी रुपमा बर्सेनि राखीको व्यापार गर्दै आइरहनुभएका नन्दु साह पनि राखीको व्यापार घटेको जनाएका छन् । ‘पहिला दिनकै रु १० हजारभन्दा धेरैको राखी बेचिन्थ्यो’, उनले विगत स्मरण गर्दै भने, ‘अहिले मुस्किलले रु दुई हजारको राखी बेच्न पनि मुस्किल भइसक्यो ।’ साहका अनुसार नेपाल-भारत सीमावर्ती बजार रक्सौलमा नै अधिकांश वीरगञ्जबासी खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री किनमेल गर्न जाँदा उतैबाट राखी पनि किनेर आउँदा यहाँको बजारमा राखीको व्यापार घटेको छ । ‘अहिले यहाँका जो पनि रक्सौल नै किनमेलका लागि जान्छन्, उतैबाट राखीको सामान किनेर ल्याउँदा पनि समस्या भइरहेको छ’, उनले भने, ‘अर्कोतर्फ वीरगञ्जको गल्लीगल्लीमा सबैले राखीको मात्रै व्यापार गर्दा पनि समस्या भएको हो ।’
यस वर्ष रु ५० हजार रकम खर्चेर विभिन्न थरीका राखी ल्याएर बिक्री वितरण गर्न लागेको उनीले बताउँछन् । उनले भने, ‘अहिले सबै राखी बेच्न पनि समस्या हुने हो कि भन्ने डर लागिरहेको छ ।’ उनका अनुसार वीरगञ्जको पुरानो बजार मिनाबजार, गहवामाई मन्दिर परिसर, बिर्तालगायत ठाउँमा धेरै राखीको व्यापार हुने गर्छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्