काठमाडौँ । मकवानपुरमा कुपोषण रोकथाम चुनौती बनेको छ । यद्यपि कुपोषणको सिकार बनेका बालबालिकाले उपचारपछि स्वाथ्यलाभ गरेका छन् ।
मकवानपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारअनुसार आर्थिक वर्ष २०८०/८१ मा फेलापरेको कडा कुपोषित बालबालिकामध्ये ४९ प्रतिशत बालबालिका उपचारपछि निको भएका छन् । आव २०८०/८१ मा कडा कुपोषित एक सय ३३ बालबालिकामध्ये उपचारपछि ५९ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् । कडा कुपोषितमध्ये नौ बाबालिकाका अभिभावकले आफूखुसी घर फर्काएर लगेको र बाँकी बालबालिकाको अझै उपचार भइरहेको छ ।
अघिल्लो आव २०७९/८० मा कुपोषित एक सय ३१ जना बालबालिकाको उपचार गरिएकामा ४८ प्रतिशत बालबालिका निको भएर घर फर्किएका थिए । कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा २१ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र (ओटिसी सेन्टर) स्थापना गरेर उपचारात्मक तयारी खाना (पोषिलो खाना)कार्यक्रम सञ्चालन भइरहेको प्रमुख मिजारले बताए । उनले मकवानपुरमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए। पोषिलो खाना नपाएका कारण बालबालिकामा कडा खालको कुपोषण हुने गरेको उनले बताए ।
पोषण सुधार गर्न जिल्लामा सरकारी तथा गैरसरकारी क्षेत्रबाट कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न एकीकृत पोषण कार्यक्रम सञ्चालनमा छ । ‘‘जिल्लामा सञ्चालित २१ वटा ओटिसी सेन्टरमा जाँच हुन्छ, जाँचका क्रममा कडा कुपोषण भएका बालबालिकाको उपचार गर्ने गरेका छौँ”, प्रमुख मिजारले भने, “हेटौँडा अस्पताल परिसरभित्र स्थापना गरिएको पोषण पुनःस्थापना गृह (एनआर एच)मा बालबालिकालाई पोषणायुक्त खानासँगै उपचार हुन्छ ।” कार्यक्रमले गर्भवती र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याएको उनको भनाई छ ।
मकवानपुरमा जन्मिएको १२ महिनाभित्र बालबालिकाको तौल लिनेको सङ्ख्या बढेको छ । दुई वर्षभित्रका बालबालिकाको कम्तीमा २४ पटक वजन मापन गर्नुपर्नेमा दुई वर्षमा पाँचपटक मात्र बालबालिकाको वजन मापन हुने गरेको प्रमुख मिजारले बताए । रासस
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्